नेपाल र स्कटल्याण्ड भिड्दै, नेपालले जित्नै पर्ने दबाब
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
जेनजी आन्दोलनमा फरार रहेका तामाङ महोत्तरीबाट पक्राउ
काठमाडौँ । जबर्जस्ती करणी (बालयौन दुरुपयोग) मुद्दामा कारागारमा जन्मकैदको सजाय भोग्दै गरेका जेनजी आन्दोलनमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । नवलपरासीको कावासोती नगरपालिका ३ का २४ वर्षीय निशान तामाङ पक्राउ परेका हुन् । शुक्रबार उनलाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, महोत्तरीको समन्वयमा महोत्तरीको बर्दिवासबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार तामाङले २०७९ कार्तिक २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका १ को सिरुटार विरुवास्थित बालुवा डिपोमा ७ वर्षीया बालिकालाई चकलेट दिने प्रलोभन देखाई बालयौन दुरुपयोग गरेका थिए। जबर्जस्ती करणी सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले २०७९ मंसिर १ गतेको फैसला तामाङलाई जन्म कैद अर्थात २५ वर्ष र सात लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । अदालतको फैसलापछि केन्द्रीय कारागार सुन्धारा, काठमाडौँमा कैद भुक्तान गरिरहेका तामाङ गत भदौ २४ गते कारागारबाट फरार रहेका थिए । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाही र बाँकी कैद भुक्तानका लागि पुनः केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयबाट बोलेको भन्दै वडासचिवलाई धम्क्याउने खड्का पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट बोलेको भनेर वडासचिवलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले २२ वर्षीय प्रकाश खड्कालाई शंखमुलबाट पक्राउ गरेको हो । खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ । उनले केही दिन अघिमात्र राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेका थिए । खड्का सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्र चोकका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वडा सचिवलाई धम्क्याएको विरुद्धमा आपत्ति जनाएको थियो । कर्मचारी धम्क्याउनेलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको थियो । खड्काले दैलेख दुल्लु नगरपालिका १३ वडासचिव कमल भण्डारीलाई धम्क्याएका थिए ।