एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् ।  सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको जानकारी दिए ।  ‘सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता, अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिवद्ध छ भन्ने कुरामा हामीले प्रतिवद्धता दोहोर्याएका छौँ,’ उनले भने । उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरे । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएपछि  सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानविन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने जानकारी दिए ।  उनले भने, ‘जब तपाई हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनितिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुपर्यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ ।’  कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि जानकारी दिए ।    

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।      उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।      प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।  

काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै कम

काठमाडौं । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् ।      हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम मंगलबार यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ ।      हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौंको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए । गत मङ्सिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो ।      उनका अनुसार मंगलबार देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए । मौसमविद् दाहालले भने, 'तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।' आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ ।