लुटेराको प्रतिकार गर्ने महिलालाई आइजिपी कार्कीले गरे सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका– २२ शाक्यलाई लुटपाट गर्न आएका व्यक्तिहरूविरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै सम्मानित भएकी हुन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।  काठमाडौं महानगरपालिका– २४ तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको  प्रर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे ।  सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनको भनाइ छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाबारे आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरे ।   सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्त्वपूर्ण रहन्छ भनेर आमनागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ‘साथै उनले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ,’ प्रधान कार्यालयको बुलेटिनमा भनिएको छ ।  

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो ।  अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै  एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख रुपैयाँ, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार रुपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै  एक जनाबाट १२ लाख २५ हजार रुपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट पाँच लाख ५० हजार रुपैयाँ ठगेका थिए ।   

वैश्विक ऊर्जा संकटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति

काठमाडौं । अस्ट्रेलियाले ऊर्जा अभावको जोखिम कम गर्नका लागि ठूला ग्यास निर्यात कम्पनीहरूलाई आफ्नो उत्पादनको केही हिस्सा घरेलु बजारका लागि छुट्याउन बाध्य पार्ने घोषणा गरेको छ । ऊर्जामन्त्री क्रिस बोवेनले बिहीबार जानकारी दिँदै देशको प्रमुख ग्यास निर्यातकर्ताहरूलाई अब उत्पादनको २० प्रतिशत भाग देशभित्र बिक्रीका लागि छुट्याउनुपर्ने बताए । अस्ट्रेलिया विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्तामध्ये एक हो, जसको ऊर्जा एशियाली बजारमा अत्यधिक माग छ । तर हाल मध्यपूर्वमा बढ्दो युद्ध र त्यसले विश्व ऊर्जा बजारमा पारेको असरका कारण आपूर्ति र मूल्यमा ठूलो अस्थिरता देखिएको छ । ऊर्जामन्त्री बोवेनले यो निर्णयलाई ‘वैश्विक मूल्य उतारचढावबाट देशलाई जोगाउने कदम’ भन्दै सरकारको लक्ष्य घरेलु ऊर्जा सुरक्षा सुनिश्चित गर्नु रहेको बताए । उनका अनुसार अस्ट्रेलियाले नवीकरणीय ऊर्जा विकासमा लगानी बढाइरहेको छ र साथै आवश्यक ग्यासलाई देशभित्रै सुरक्षित राख्ने नीति अघि बढाइरहेको छ । अस्ट्रेलिया जापान, दक्षिण कोरिया लगायतका एशियाली देशहरूको प्रमुख ग्यास आपूर्तिकर्ता हो। हाल जापानले आवश्यक एलएनजीको करिब ४० प्रतिशत अस्ट्रेलियाबाट प्राप्त गर्छ । तर हालै इजरायल र अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा ऊर्जा मूल्य विश्वभर बढेको छ । सरकारले नयाँ नीति लागू भए पनि पहिले भएका अन्तर्राष्ट्रिय सम्झौतामा कुनै असर नपर्ने स्पष्ट पारेको छ । बोवेनले भने, 'अस्ट्रेलिया सधैं विश्वसनीय ऊर्जा आपूर्तिकर्ता रहिरहनेछ ।' भौगोलिक रूपमा टाढा रहेको र सीमित रिफाइनरी भएका कारण अस्ट्रेलिया अन्तर्राष्ट्रिय ऊर्जा सङ्कटप्रति संवेदनशील मानिन्छ । हाल इरानले हर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि विश्व तेल आपूर्तिमा थप दबाब परेको छ । यसैबीच, प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बुधबार देशभित्र १० अर्ब लिटर क्षमताको राष्ट्रिय इन्धन भण्डारण प्रणाली स्थापना गर्ने घोषणा गरेका छन्, जसको उद्देश्य आपूर्ति सङ्कटको अवस्थामा देशलाई सुरक्षित राख्नु हो । अस्ट्रेलियाले ऊर्जा सुरक्षा बलियो बनाउन घरेलु आपूर्ति प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारमा स्थिरता कायम गर्ने प्रयास गरिरहेको देखिन्छ । रासस