बैंकिङ कसुर मुद्दाका फरार सलिजा कन्दङवा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ । दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । निजको चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रुपैयाँ रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।  

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

इनरुवा । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट  १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो । 

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।      उनले भने, 'पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रु एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै रु १३ लाख ६० हजार तथा  रोशनले क्यानडा पठाइदिने भन्दै रु २४ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'      उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।