गोरखा ब्रुअरी र खालिसीसीबीच बोतल व्यवस्थापन सहकार्य

काठमाडौं । गोरखा ब्रुअरी कार्ल्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई समेट्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ । ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यस अभियानले जिम्मेवार स्रोत व्यवस्थापन (रिसोर्स म्यानेजमेन्ट)लाई व्यवहारमा उतार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत खालिसीसीले बार तथा रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाका बोतललाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसबाट व्यवसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली विकास हुने अपेक्षा गरिएको छ । यो मोडेलले व्यवसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापनलाई सरल बनाउने र पुनःप्रयोग गर्न सकिने शिशा ल्यान्डफिलमा पुग्ने मात्रा उल्लेखनीय रूपमा घटाउने कम्पनीको विश्वास छ । गोरखा ब्रुअरीले खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै व्यवस्थित पुनःप्रयोग समाधानमार्फत आफ्ना दिगोपनसम्बन्धी लक्ष्यलाई थप मजबुत बनाउँदै सफा तथा हरियो नेपाल निर्माणमा योगदान पुर्‍याइरहेको जनाएको छ ।

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए ।  उनकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताए ।  उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसाथ गर्दै अगाडि जाने र उपाध्यक्ष मात्रै राखेका छौँ पाँच जना । वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन । पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदैछौं ।’  उनले महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि शुरु हुने समेत जानकारी दिए । उनले केन्द्रिय कमिटीको अन्तिम बैठकले सबै सदस्यहरुलाई धन्यावाद समेत व्यक्त गरेको जानकारी गराए ।

लुम्बिनीका कप्तान रोहितले पाए कार र बाइक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । एनपीएलको फाइलनमा लुम्बिनीलाई उपाधि जिताउँदै उनी सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले ५७ लाख रुपैयाँ बराबरको जेको जे-फाइभ कार उपहार स्वरूप प्राप्त गरेका छन् ।  सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित तीन विकेट लिएका थिए । उनको एनपीएलमा ९ विकेट भएको छ ।  त्यस्तै, फाइनल खेलमा १६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले १० खेलमा दुई सय ७६ रन बनाए । उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् ।  उनी सर्वाधिक रन बनाउने नेपाली ब्याटर पनि हुन्। उनले मोटरसाइकल पनि पुरस्कार पाएका छन् ।  यस्तो छ कारको विशेषता  रोहितले पाएको जेको जे-फाइभ कार चिनियाँ ब्रान्ड चेरीको उत्पादन हो । जसलाई नेपालमा एसपीजी अटोमोबाइल्सले भित्र्याएको हो । यसको बजार मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ ।  ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको यो कारले एक पटकको फुल चार्जमा ४६१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा १५५ किलोवाट पिक पावर दिने शक्तिशाली मोटर छ । जसले अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्छ ।  प्रिमियम डिजाइनमा तयार भएको यस कारमा १.४५ वर्ग मिटरको ठूलो पानोरोमिक ग्लास रुफ छ । इन्टेरियरमा १३.२ इन्चको टचस्क्रिन र डुअल टोन लेदर सिटले यसलाई लग्जरियस बनाएको छ ।  सुरक्षाका लागि यसमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल २ जडान गरिएको छ । यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ जस्ता आधुनिक फिचरहरू उपलब्ध छन् ।  ४८० लिटरको बुट स्पेस रहेको यो कारको पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म स्पेस बढाउन सकिन्छ ।  यसैगरी,  बजाजको पल्सर एनएस १६० मोटरसाइकल नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले एनपीएलमा तीन उत्कृष्ट खेलाडी रोहित, शेर मल्ल र सन्दीप लामिछानेलाई दिएको छ ।