दुई गुल्मेली सर्जकको ‘गाली नि मीठो’ सार्वजनिक
काठमाडौं । गुल्मीका दुई सर्जक शितल पाण्डे र मदन खनालको स्वरमा ‘गाली नि मीठो’ लोकपप शैलीको गीत सार्वजनिक भएको छ । अधिवक्ता समेत रहेकी गायिका पाण्डेको प्रस्तुति रहेको उक्त गीतको रचना वरिष्ठ गीतकार राजेन्द्र थापाले गरेका छन् । संगीत दीपक शर्माको रहेको उक्त गीतमा म्युजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा भने मोडलहरू लोमश शर्मा र विना राउतलाई फिचराइज गरिएको छ । उक्त गीतको भिडियो निर्देशन राज भट्टले गरेका हुन् ।
उच्च तलबको प्रलोभनमा र पर्यटकीय भिसामा कम्बोडिया नजानू : दूतावास
काठमाडौं । नेपालीलाई उच्च तलब र पर्यटकीय भिसामा कम्बोडिया नजान थाइल्याण्डस्थित नेपाली दूतावासले निर्देशन दिएको छ । सोमबार दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गरेको छ । भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन पनि दूतावासले बताएको छ । गैह्रकानुनी कार्यमा संलग्न भएमा त्यस्ता काम बन्द गरेर नेपाल फर्कन दूतावासले आग्रह गरेको छ । नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र रोजगारीमा जान अनुरोध गरेको छ । नेपाल फर्कन सहजीकरण गर्ने राजदूतावासले कम्बोडियामा रहेका नेपालीको तथ्याङ्क तथा सूचना संकलन गरिरहेको दूतावासले उल्लेख गरेको छ । नेपालीहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङमा परेको जानकारी प्राप्त भएको दूतावासले बताएको छ । अनलाइन स्क्यामिङ जस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न पाँचलाख अमेरिकी डलर सम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था कम्बोडिया सरकारले लागू गरेको छ । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द र नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको दूतावासले जानकारी दिएको छ ।
महासंघलाई अर्थमन्त्रीको सुझाव : विगतको जस्तो गुट नबनाई सर्वसम्मत नेतृत्व चयन गर्नू
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघलाई विगतजस्तो गुटबन्दीको अभ्यास त्यागेर सहमति र एकतामा आधारित नेतृत्व निर्माण गर्न सुझाव दिएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले आगामी नेतृत्व चयन प्रक्रियालाई विभाजन होइन, सहकार्यको आधारमा अघि बढाउन आग्रह गरे । 'महासंघको चुनावमा पहिलेको जस्तो गुट नबनाउनु होला,' उनले भने, 'अब अर्थतन्त्र कता डोर्याउने भन्ने जिम्मेवारी तपाईंहरूको हातमा छ ।' उनका अनुसार निजी क्षेत्रको एकता र स्पष्ट दृष्टिकोणबिना देशको आर्थिक रूपान्तरण सम्भव छैन । अर्थमन्त्री वाग्लेले महासंघभित्र सहकार्य र समझदारीको वातावरण आवश्यक रहेको औंल्याउँदै अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे । 'दुवै जना गण्डकी प्रदेशका हुनुहुन्छ, मिलेर जानुपर्छ,' उनले भने । उनले निजी क्षेत्रलाई देशको आर्थिक नेतृत्वदायी शक्ति मान्दै आन्तरिक एकता कायम राख्न सके मात्र प्रभावकारी रूपमा नीतिगत सुधार र आर्थिक विकासमा योगदान दिन सकिने बताए । उनले महासंघलाई संस्थागत रूपमा अझ सुदृढ, जिम्मेवार र एकताबद्ध बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।