कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
मान्म । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो । प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताए । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रियसभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।
एकै दिन ६० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । नेपाल सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । निर्वाचन गराउने एकमात्र कार्यादेशसहित बनेको सरकारले एकैपटक यति धेरै सहसचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना सचिवका अनुसार राजपत्रांकित प्रथम श्रेणिका कर्मचारीको एकैपटक गरिएको यो ठूलो सरुवा हो । पुर्व सचिव शारदा प्रसाद त्रिताल पनि यो सरुवाप्रति त्यति सकमारात्मक देखिदैनन् । त्रितालले सवै सरकारको काम कर्मचारी सरुवा गर्नुजस्तै गरी अन्तरीम सरकारले पुरानै कामलाइ निरन्तरता दिएको सामाजिक सञ्जालमा लेखेका छन् । निर्वाचन नजिकिँदै गरेको समयमा भएको ठूलो संख्यामा सरुवालाई धेरैले चासोका साथ हेरेका छन् । अन्तरिम सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यति ठूलो संख्यामा उच्च तहका कर्मचारीको सरुवा गरेको हो ।
अनियमित मौसमको असर : यस वर्ष घट्यो धान उत्पादन
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । 'मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्', उनले भने । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती विस्तार भएको छ । बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ । जिल्लाभर करिब ९६ प्रतिशतमात्र रोपाइँ भएको थियो । जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गरेको छ । कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । तर यस वर्ष मौसम प्रतिकूल हुँदा उत्पादन घटेको किसानको भनाइ छ ।