रसुवामै बसेर अलग्गै राज्यमा रहेको अनुभूति गर्छन् अध्यक्ष बुचुङ

गाउँको पीडा देख्दा शब्द हराउँछन्

काठमाडौं । बिहानको उज्यालो नहुँदै फोनको घण्टी बज्छ- बिरामी परेको खबर आउँछ, कतै राहत नपुगेको गुनासो । कसैले हेलिकप्टर पठाइदिन आग्रह गर्छन्, कसैले खाद्यान्नको व्यवस्था गरिदिन ।

सम्बन्धित निकायसँग समन्वय गर्दै र राहतको जोहो गर्न दौडिँदैमा उनको दिन बित्छ । यो दैनिकी हो रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङको । भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक, पुल र सम्पर्कका माध्यमबाट लगभग अलग्गिएको छ । 

तामाङका अनुसार पाँचवटै वडा प्रभावित छन् । केन्द्रीय सरकारबाट अलग भएर बसेको जस्तो महसुस भइरहेको उनले गुनासो गरे । 'हामी अहिले विपदको नाकाबन्दीमा परेका छौ,' उनले भने,' हाम्रोमा खाद्यान्न पनि हेलिकोप्टरबाट ल्याउने गरिएको छ । आफ्नै देशको राजधानीमा सहजै पुग्न नसक्ने अवस्थामा छाैँ ।'

बेपत्ताहरूको पहिचान र अवस्थाबारे अन्तिम टुंगो लाग्न सकेको छैन । 

चार वटा बिस्कुटको सहारामा कुँदिरहेका

अध्यक्ष तामाङको मनले बाढी आएपछिका दिनरात शरीर र मनले आराम पाउन सकेका छैनन् । उनको आफ्नै खानपान र निद्राको तालिकासमेत बिग्रिएको छ। 'कहिले बिहानको खाना दिउँसो १ बजे खाएको छु, कहिले भोकै दौडिएको छु,' उनी सम्झन्छन्,' कहिलेकाहीँ चार वटा बिस्कुट पानीसँग खाएर पनि दौडिएको छु ।'

गाउँका मानिसको अवस्था सम्झिँदा उनलाई आफ्नै थकान गौण लाग्छ । 'अरुलाई कति दुःख होला भनेर निदाउन मन लाग्दैन,' उनले पीडा पाेख्दै भने, 'गाउँ र जीवन बगाएको सम्झँदा कति रात निदाउन सकिरहेकाे छैन ।'

उनको समय सरकारी निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, केन्द्रीय विपद् व्यवस्थापन निकाय, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर बित्ने गरेको छ ।

गाउँपालिकामा १ हजार ७०१ घरपरिवार थिए । त्यसमध्ये करिब ४-५ सय घरपरिवार विभिन्न कारणले गाउँपालिका बाहिर  छन् । केही काठमाडौं, धुन्चेलगायतका क्षेत्रमा पुगेका छन् ।

तामाङको गाउँपालिकासँग सम्पर्क टुटेको छ । कार्यालयमा पुग्न पाएका छैनन् । सडक सम्पर्क मात्र टुटेकको छैन, पुलहरू बगेका छन् । झोलुंगे पुलदेखि पक्की पुल र बेलीब्रिजसम्म बगेका छन् । 'बाढीले बगाएपछि हामी वारि र पारि छुट्टिएर बसेका छौ,’ उनले मलिन स्वरमा भने ।

'राज्यले बाटो जोडिदिनुपर्छ आमाछोदिङ्मोका लागि एउटा छुट्टै हेलिकप्टरको व्यवस्था गर्नुपर्छ,' अध्यक्ष तामाङको माग छ । राहत गाउँसम्म पुर्याउन पनि सहज छैन । राहत सामग्री ढुवानीका लागि जिल्ला विपद् व्यवस्थापन समितिदेखि केन्द्रीय तहसम्म स्वीकृति र समन्वय गर्नुपर्छ । हेलिकप्टरबाट सामग्री लैजानसमेत लामो प्रक्रिया पूरा गर्नुपर्छ ।

उनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को हेलिकप्टरमार्फत वडा नम्बर २ मा करिब २ सय ६० घरपरिवारका लागि खाद्यान्न पुर्याउने काम भएको छ । प्रत्येक परिवारलाई चामल, नुन, तेल र दाललगायतका सामग्री समेटिएको प्याकेज वितरण गर्ने योजना छ ।

अध्यक्ष तामाङका लागि राहत वितरण एउटा कार्यक्रम होइन, दैनिक जिम्मेवारी बनेको छ । गाउँमा कोही बिरामी परेको खबर आउँछ । गाउँपालिकासँग दुईवटा एम्बुलेन्स छन्  । तर एम्बुलेन्स जाने बाटो छैन । 

हेलिकप्टरको खोजी हुन्छ । हेलिकप्टर तत्काल उपलब्ध हुँदैन । फेरि अर्को निकायमा फोन गर्नुपर्छ । 'एउटा मान्छे बिरामी हुन्छ, हेलिकप्टर पठाइदिनु भन्छन् । तर हेलिकप्टर अहिलेको अहिले मिल्ने अवस्था हुँदैन । सबै ठाउँमा समन्वय गर्नुपर्छ,' उनी भन्छन् ।

आफन्त गुमाएको पीडा 

बुचुङका लागि यो विपद् केवल प्रशासनिक चुनौती होइन। उनी आफैं पनि प्रभावित परिवारका सदस्य हुन्। उनका आफन्तसमेत बेपत्ता छन्। दिदीका छोरीहरू र काकाका छोराहरू सम्पर्कविहिन छन् ।

त्यसैले उनी जब गाउँ पुग्छन्, त्यहाँ देखिने सन्तान गुमाएका अभिभावक, अभिभावक गुमाएका बालबालिका र बेसहारा बनेका वृद्ध तथा श्रीमान गुमाएका सुत्केरी श्रीमतीको दृश्यले उनको पीडा झन् गहिरिन्छ । आफूलाई सम्हाल्न सक्दैनन् ।

अहिले गाउँको घरमा अभिभावकविहीन बालबालिका भेटिन्छन्। कतै छोराछोरी गुमाएका आमाबुबा छन्। कतै श्रीमान् गुमाएका महिला छन्, कतै श्रीमती गुमाएका पुरुष। ' त्यो पीडा देख्दा व्यक्त गर्ने शब्द नै हुँदैन,'उनी भन्छन् । 

उनले गाउँका ८०-९० वर्षका वृद्धवृद्धासँग समेत यसअघि यति ठूलो विपद् कहिल्यै देख्नु नपरेका सुनेका छन् । पीडा सहित मिसिएका आवाजले जवाफले तामाङ नाजवाफ बन्छन् ।

सभ्यता र संस्कृति बगायो

तामाङले बाढी आउने, पहिरो जाने र केही बस्ती बगाउने घटना पहिले पनि घटेको बताए । 'एउटा गाउँ, बजार, सभ्यता र संस्कृति बगायो । बस्ती र बाँचेका मानिसको मन उजाड हुने गरेर खोला कहिले उर्लेको देखेको र थाहा पाएको थिइन् र सम्झन पनि सक्दिन,'  तामाङले सानो स्वरमा भन्छन् ।

बाढीले खोलाको धारभन्दा सयौं मिटर माथिसम्म बस्तीमा पुर्याएको असर उनले देखे । उनले यसलाई सामान्य बाढीको रूपमा मात्र लिन नसकिने बताउँछन् ।

पीडित परिवारलाई भेट्दा अध्यक्ष तामाङ केवल राहत सामग्री लिएर पुग्दैनन्। उनी उनीहरूसँग बसेर कुरा गर्छन् । 'यो दुःख तपाईंको मात्रै होइन, हजारौं मानिसले भोगेका छन्,' उनले पीडित परिवारलाई भनेका कुरा सुनाउँछन् ।

आफन्त गुमाएका परिवारलाई आफ्नो पीडा अरूका पीडासँग तुलना गरेर सकिँदैन ।  उनी एक्ला छैनन् भन्ने अनुभूति दिलाउने प्रयास गर्छन्। 

हराइरहेको व्यक्तिको चिन्ता गर्दा जीवित सदस्यमा समेत मानसिक असर पर्न सक्ने तामाङ चिन्ता गर्छन् । राज्यले जीवित सदस्यका लागि चाँडो भन्दा चाँडो केही गर्नुपर्ने उनी माग राख्छन् ।

काठमाडौं, चिसापानी, लोलाङलगायतका क्षेत्रमा पुगेका करिब ४५ बेपत्ता परिवारलाई उनले विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न प्याकेजसमेत पुर्याएका छन् । नुन, तेल, दाल र चामललगायत सामग्री लिएर उनी ती परिवारसम्म पुगेका छन्।

अध्यक्ष तामाङका लागि यो राहतभन्दा पनि पीडितसँग जोडिने एउटा माध्यम हो। बाढीपछि अध्यक्ष तामाङको अर्को चिन्ता अभिभावक गुमाएका बालबालिकाको भविष्य हो। गाउँपालिकाले त्यस्ता बालबालिकाको यकिन तथ्यांक संकलन गरिरहेको छ। 

विभिन्न संघसंस्थाले 'हामी पढाइदिन्छौँ, व्यवस्थापन गर्छौं' भन्दै उनीसँग भनिरहेका छन् । अध्यक्ष तामाङ दीर्घकालीन व्यवस्थापनबारे सचेत र उनीहरूका नियतबारे प्रस्ट छन् ।

उनका अनुसार आजको स्थानीय नेतृत्वले जिम्मेवारी लिएर बालबालिकालाई पढाउने निर्णय गर्न सक्छ । आगामी वर्षमा नेतृत्व परिवर्तन भयो भने यसले निरन्तरता पाउँछ या पाउँदैन त्यहीँ चिन्ताले उनलाई सताउने गरेको छ । 

अभिभावक विहीन बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र भविष्य सुनिश्चित गर्न राज्यले स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उनको धारणा छ।

' यो दस-पन्ध्र वर्षसम्म हेर्नुपर्ने विषय हो। आज एउटा सरकारले जिम्मा लिएर भोलिको सरकारले निरन्तरता दिन सकेन भने बालबालिकाको भविष्य झन् अन्योलमा पर्न सक्छ,' उनी भावुक स्वरमा बोल्छन् ।

बेपत्ताका परिवारलाई तत्काल राहत

गाउँपालिकाले बेपत्ता व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रत्येक बेपत्ता व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ सान्त्वना राहत दिने व्यवस्था गरिसकेको छ ।

एउटै परिवारका दुई वा तीन जना बेपत्ता भएमा घरपरिवारको आधारमा होइन, बेपत्ता व्यक्तिको संख्याका आधारमा राहत दिने नीति गाउँपालिकाले बनाएको अध्यक्ष तामाङ सुनाउँछन्।

राहत वितरणमा कानुनी प्रक्रिया बाधक बनेको उनले गुनासो पोखे । बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने कानुनी प्रक्रिया लामो भएकाले तत्काल राहत वितरणमा समस्या हुने गरेको उनको भनाइ छ।

यसका लागि राज्यले विशेष व्यवस्था गरेर विपद्का कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई तत्काल राहत उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनको माग छ। बाढीका कारण श्रीमान् गुमाएका गर्भवती महिलाका लागि सुत्केरी व्यवस्थापन खर्चबापत ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गाउँपालिकाले गरेको उनले सुनाए ।

विस्थापितका लागि अस्थायी बास

वडा नम्बर १ को हाकुबेँसी क्षेत्रमा करिब १ सय ५० घरपरिवार बाढीको जोखिमका कारण विस्थापित भएका छन्। घरहरू प्रत्यक्ष रूपमा बगाए पनि बस्तीको तल्लो भागमा बाढीले ठूलो असर पुर्याएपछि उनीहरू सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका हुन्।

उनीहरूमध्ये केही काठमाडौंका विभिन्न क्षेत्रमा पुगेका छन्। केही समय गुम्बामा बसेका परिवार अहिले अस्थायी टहरा बनाएर बस्ने तयारी गरिरहेको उनले बताए ।

अध्यक्ष तामाङले विस्थापित परिवारको संख्या, बसोबास गर्ने स्थान र आवश्यक टहराको विवरण तत्काल  माग गरेका छन् ।

पदभन्दा अगाडि मानव

३८ वर्षीय बुचुङ तामाङका लागि स्थानीय नेतृत्वको यो पहिलो अवसर होइन। गाविस सहायक सचिवका रूपमा १०- ११ वर्ष काम गरेको अनुभव उनीसँग छ । उनले गाउँमा हुने गतिविधिको प्रत्यक्ष अनुभव गरिसकेका छन् ।

पहिलो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका थिए। त्यसबेला उनी नयाँ शक्ति नेपालको तर्फबाट निर्वाचित भएका थिए। उनी दोस्रो कार्यकालका निर्वाचित भए । 

उनको परिचय राजनीतिकभन्दा बढी उद्धार, राहत र पीडितको अभिभावकका रूपमा देखिन्छ। तामाङ बिहान फोन उठाउनेदेखि राति राहतको समन्वय गर्न दौडिरहेका छन्।

'आफ्नै आफन्त बेपत्ता छन्, गाउँका मानिस शोकमा छन्, सडक र पुल टुटेका छन्। मलाई आराम गर्ने छुट छैन,' उनले अगाडि थपे ।

आमाछोदिङ्मोको पहाडमा बाढीले बाटो मात्र बगाएको छैन । धेरै परिवारको जीवनको पुरानो बाटो पनि बदलिदिएको छ । बाँचेका मानिसहरूका नियतिसमेत बदलिदिएको छ । ' बाँचेका मानिसहरूका नियति हेर्दै उकालीओराली गरेर केन्द्र सरकारसँग गुहार मागिरहेको छु,' उनले सुनाए ।

परिवारका सदस्य गुमाएकालाई उनले नयाँ बाटो देखाउने जिम्मेवारी बोकेका तामाङले भने आफूलाई बिर्सिएका छन् ।  बिहानको पहिलो फोनदेखि रातको अन्तिम फोन घण्टीले मेरो श्वास खोजिरहेको उनी बताउँछन् ।

Share News