काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका– २२ शाक्यलाई लुटपाट गर्न आएका व्यक्तिहरूविरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै सम्मानित भएकी हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
काठमाडौं महानगरपालिका– २४ तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको प्रर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे ।
सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनको भनाइ छ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाबारे आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरे ।
सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्त्वपूर्ण रहन्छ भनेर आमनागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘साथै उनले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ,’ प्रधान कार्यालयको बुलेटिनमा भनिएको छ ।