काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) बाट भएको आम्दानीको हिस्सा जिल्ला क्रिकेट संघहरूलाई वितरण गर्ने निर्णय गरेको छ ।
विराटनगरमा आइतबार सम्पन्न संघको वार्षिक साधारण सभाले ४५ वटै जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार साधारण सभाले एनपीएलको पहिलो र दोस्रो संस्करणको आय-व्यय विवरण पारित गर्दै उक्त नाफाबाट जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय लिएको हो ।
यसका साथै, जिल्लाहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको प्रभावकारिता र सक्रियताका आधारमा ’स्कोर कार्ड ग्रान्ट’ समेत उपलब्ध गराइने भएको छ ।
साधारण सभाले संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन र सन् २०२६ का लागि तय गरिएको वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेटलाई समेत अनुमोदन गरेको छ ।
एसीसी र आईसीसीबाट थप कार्यक्रमहरू आएको खण्डमा बजेट समायोजन गर्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको छ ।
क्रिकेटरहरूको मनोबल उच्च राख्न क्यानले यसै वर्षदेखि प्रत्येक डिसेम्बरमा क्यान एनुअल अवार्ड घोषणा गर्ने निर्णय पनि गरेको छ ।
जसअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला) र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
