लिक्विड लाउन्जमा ५ करोड बढीको क्षति, २५ लाखको बीमा

५५ जना कर्मचारीको रोजगारी प्रभावित

काठमाडौं । दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार (आज) बिहान भएको आगलागीबाट पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

आगलागीबाट बारभित्रका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । बारका सञ्चालक सञ्जीव लामाले आगलागीले व्यवसायमा ठूलो क्षति पुर्याएको जानकारी दिए ।

उनका अनुसार लाउन्जमा रहेका फर्निचर, सजावटका सामग्री, विद्युतीय उपकरण, बार सञ्चालनका लागि आवश्यक सामग्री तथा अन्य अधिकांश सामान जलेर नष्ट भएका छन् । 

null

लाउन्जमा ५५ जना कर्मचारी कार्यरत थिए । आगलागीपछि उनीहरूको रोजगारीसमेत प्रभावित भएको छ ।

पाँच करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि लाउन्जको जम्मा २५ लाख रुपैयाँको मात्रै बीमा गरिएको सञ्चालक लामाले जानकारी दिए । 

लामाका अनुसार अनुमानित क्षतिको तुलनामा बीमा रकम निकै न्यून छ । क्षतिको औपचारिक मूल्यांकनपछि वास्तविक विवरण यकिन हुने लामाले बताए ।

लिक्विड लाउन्ज रहेको भवनमा होटल वुडल्यान्ड र सुलभ सुनचाँदी पसललगायत व्यवसायसमेत सञ्चालनमा रहेका छन् । 

भवनका व्यवस्थापक बैकुण्ठ अर्यालका अनुसार आगलागी भएको लाउन्जको सञ्चालन व्यवसायी सञ्जीव लामाले गर्दै आएका थिए । 

आगलागीबाट भवनका अन्य व्यवसाय तथा संरचनामा कति क्षति पुगेको छ भन्ने विवरण आउन बाँकी रहेको अर्यालले जानकारी दिए ।

दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लाउन्जमा आइतबार बिहान करिब ८ः५५ बजे आगलागी सुरु भएको थियो । 

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी तथा दमकलको टोली घटनास्थल पुगेको थियो । सुरुमा दुईवटा दमकल परिचालन गरिएकोमा आगो नियन्त्रणमा लिन पाँचवटा दमकल प्रयोग गर्नुपरेको थियो ।

null

लाउन्जका सबै झ्याल तथा ढोका बन्द रहेका कारण भित्र पानी पठाउन कठिन हुँदा आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । 

आगलागी हुँदा लाउन्जभित्र कोही पनि नरहेको लामाले जानकारी दिए । 

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले घटनाको कारण र क्षतिको विवरणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

null

Share News