काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालको विद्युत् प्रणालीमा अधिकतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको बेलुका ६ बजेर १५ मिनेटमा राष्ट्रिय प्रणालीमा यो पिक लोड रेकर्ड गरिएको हो ।
उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक माग सहज रूपमा पूरा गरेसँगै बाँकी रहेको ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय जलविद्युत् उत्पादन क्षमतामा थप वृद्धि हुँदै गएका कारण चाडपर्वका बेलासमेत आन्तरिक आवश्यकता धानेर अतिरिक्त ऊर्जा विदेश पठाउन सकिने अवस्था सुदृढ बन्दै गएको छ ।
प्राधिकरणको विवरण अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो ।
यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट ४९९.२० मेगावाट, प्राधिकरणका आफ्ना जलाशय तथा नदी प्रवाही (आरओआर र पीआरओआर) आयोजनाहरूबाट ३४२.३० मेगावाट र स्टोरेज आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

यसैबीच, लक्ष्मीपूजाको साँझ मात्रै काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको उल्लेख गरिएको छ । माग व्यवस्थापनमा गरिएको पूर्वतयारीका कारण यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै पनि अवरोध (पावर इन्टरप्सन) नभएको र यस अवधिमा प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज स्थिर रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।
अघिल्लो वर्षको लक्ष्मीपूजाको तुलनामा यस वर्ष विद्युत्को माग ६८ मेगावाट्ले बढेको छ । गत वर्षको लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट विद्युत् खपत भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिए ।
मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापनकसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए ।
उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए ।
उहाँले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे ।
आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे ।
लक्ष्मीपूजाका दिनमा खपत विद्युतको पछिल्लो ३ वर्षको विवरण :
