बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै, हेरौँ कहाँ कहाँ हुँदै छ ?
काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको छ । बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भइराखेको जानकारी दिए । आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सो कार्यक्रम महत्वपूर्ण मानिन्छ । यसै कुरालाई ध्यान दिई स्वास्थ्य मन्त्रालयले विसं २०७२ चैतदेखि कैलाली जिल्लाबाट सो कार्यक्रम प्रारम्भ गरेको थियो । निर्देशक डा लोहनीका अनुसार बीमा कार्यक्रममाा आबद्ध प्रतिपरिवार (पाँचजनासम्म)ले वार्षिक रुपमा दुई हजार ५०० रुपैयाँ प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार व्यहोर्ने व्यवस्था छ । पाँचजनाभन्दा बढीको परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप ४२५ तिनुपर्ने र थप १० हजार रुपैयाँका दरले उपचार खर्च बढ्दै जाने छ । हाल सो कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ । रासस
त्रिवि स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेनदार विद्यार्थीलाई क्षात्रवृति दिने निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ । आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको हो । त्यस्तै एमबिए तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने अलकाश्री श्रेष्ठलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक दिने भएको छ । उक्त पदक आगामी दिक्षान्तर समारोहका बिच प्रदान गरिने एन ई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । स्कुल अफ म्यानेजमेन्टले इन्द्र जवाहर सहयोग गुठिले अन्तर्गत १ करोडको अक्षय कोषको स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा चेम्बर आन्दोलनका अभियन्ता, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष स्वर्गिय इन्द्र भक्त श्रेष्ठको सम्झनामा दोस्रो इन्द्र भक्त जयन्ति कार्यक्रम आइतबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रमका एन.ई. ग्रुपमा अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष रवि भक्त श्रेष्ठले इन्द्र जवाहर सहयोग गुठीको गतिविधि तथा नेपालको चेम्बर अभियान लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानबारे बोलेका थिए ।
प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठस्थित वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु बैंकको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँ बायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ भन्ने नाराका साथ उक्त कार्यक्रकमको आयोजना गरिएको हो । उक्त वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए । कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोगप्रति हार्दिकता पुर्वक आभार प्रकट गरेका थिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताएको छ ।