दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार वितरण

खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो । निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताएकी छिन् । टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताए । सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन । गाउँपालिकाले प्रति परिवार रु ११ हजार बरावरको सोलार सेट वितरण गरेको हो । विद्युत्त नपुगेका ४२ परिवारलाई कुल रु ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको सभापोखरी गाउँपालिका कार्यालयले जनाएको छ । रासस

पुनःनिर्माणले सिकारीटारका भूकम्पपीडितलाई बनायाे सुकुम्बासी

भक्तपुर । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहीबार सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो गुनासो गरेका हुन् । स्थानीयबासी श्यामकुमार खड्काले भूकम्पपीडितका लागि अुनदानको पहिलो किस्ता वापत रु ५० हजार दिएर आफूलाई सुकुम्बासी बनाएको उल्लेख गर्दै भने, “त्यो रकमले घर भत्काउनै पुगेन, जमिन नबेची घर बनाउनै नसक्ने भइयो, यहाँका सबै मोही र तल्सीङका नाममा जग्गा छ, सरकारले तोकेको मापदण्डमा घर बनाउन सक्ने अवस्था नै छैन, जग्गा बेचौं, घर बनाउने ठाउँ छैन, घर बनाउ पैसा छैन, हामीलाई प्राधिकरणले सुकुम्बासी बनायो ।” अर्का स्थानीयवासी रवीन्द्र हाकजु श्रेष्ठले अनुदानको रु ५० हजारले त्यही घर टालटुल र मर्मत गर्न मै सकिएको बताए । उनले भने, “आफ्नो रैकर जग्गा हुने पनि सरकारले कित्ताकाट रोकेकाले बिक्री गरेर घर बनाउन पाएका छैनन्, आफ्नै जग्गा बिक्री गरेर घर बनाउनसमेत सरकारले रोक्यो, यो कस्तो न्याय हो ।” स्थानीयबासी सिर्जना हाकुजु श्रेष्ठले भूकम्पले घर भत्किएपछि अहिलेसम्म रेडक्रसले दिएको पालमुनि नै बस्दै आएको बताउँदै घर बनाउनै नसक्ने गरिब भूकम्पपीडितलाई सरकारले सहज राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । भूकम्पपीडित सन्तोषी श्रेष्ठ, कान्छी माया हाकजु, देवलाल राजथला, गङ्गालाल हाकजुलगायतले घर बनाउन नसकेर पीडित बनेको भूकम्पपीडितलाई रु ५० हजार पनि फिर्ता गर्नुपर्छ भनेर तर्साएको बताएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाले नगरपालिकाको नक्साको मापदण्ड र अनिवार्य सडक हुनैपर्ने नियमका कारण धेरै भूकम्पपीडितले घर बनाउन नपाएको बताउँदै वडाले सिफारिश गरेर पठाएकालाई पनि नगरपालिकाले फर्काइदिनाले घर बन्न नसकेको धारणा व्यक्त गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इञ्जिनीयर हेरम्ब अधिकारीले लाभग्राही सूचीमा परेर प्रथम किस्ता लिनेले घर बनाउनैपर्ने बताएका छन् । उनले सडक मापदण्डमा परेको अवस्थामा अन्यत्र घर बनाउन सक्ने, आउँदो २१ गतेभित्र प्रथम किस्ता सम्झौता नगर्नेको नाम पीडितबाट स्वत हट्ने बताउँदै प्राधिकरणको मापदण्डभन्दा स्थानीय तहले बनाएको मापदण्डले भूकम्पपीडितलाई समस्या आएको बताउँछन् । उनले पूर्ण क्षतिको सूचीमा आएकाको आंशिक सूचीमा ल्याउन सकिने तर त्यो घर प्रबलीकरण गर्न मिल्छ भन्ने प्रमाणित प्राधिकरणले तोकेको इञ्जिनीयरले मात्रै गर्नसक्ने बताएका छन् । रासस

रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थाले पायो अनुमति, ३ अर्ब लाग्ने अनुमान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको थियो । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताए । रङ्गशाला निर्माणको काम शुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिएका छन् । सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुनलागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताएका छन् । यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउण्डेशनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उनले आग्रह गरेकी छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रङ्गशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताएका छन् । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रङ्गशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको सो अवसरमा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए । बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने/नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब रु तीन अर्ब खर्च गरेर फाउण्डेशनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो । रासस