पाल्पामा ५०० ज्येष्ठ नागरिक सम्मानित, खुशीले दङ्ग भए वृद्धहरु
काठमाडौं । रम्भा गाउँपालिका पाल्पाका ज्येष्ठ नागरिक सम्मान पाएपछि दङ्ग छन् । गाउँपालिकाले गाउँपालिकाभरिका करिब ५०० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पाँच वडा रहेको गाउँपालिकाका पाँचै वडाका नागरिकलाई मिठा खानेकुरा, फलफूल न्यानो कपडालगायत नगदले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कतिपयले घरपरिवारले समेत उमेर ढल्कँदै गएपछि माया, सम्मान नगरेका बेला गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई जीवन जिउन थप हौसला मिलेको बताएका छन् । रम्भा गाउँपालिका–२ का ज्येष्ठ नागरिक तुलवीर सिंजापतिले गाउँपालिकाले आफूहरुलाई निकै माया गरेको अनुभव सुनाए । “उनले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई स्याहार्नको दुःखले वृद्धाश्रम लैजाने गरेको सुनेको थिएँ, मलाई त उल्टै स्थानीय सरकारले सम्मान गर्यो निकै खुशी लागेको छ ।” उनी भन्छन्, “सरकारले वृद्धभत्ता पनि बढायो, कसैले नहेरे पनि आफैं स्वरोजगार भएझैँ लागेको छ ।” गाउँपालिका–२ मा ७५ वर्षमाथिका ९३ वृद्धवृद्धालाई नगद तथा ब्ल्याङ्केट वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बीमा तथा परिचयपत्र वितरण गर्न लागेको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिएका छन् । रासस
हिमाली टोल विकास संस्था भरतपुरलाई कृषि बिकास बैंकले दियो ५० थान डस्टबीन
काठमाडौँ । कृषि विकास बैंकले चितवन भरतपुर स्थित हिमाली टोल बिकास संस्थालाई ५० थान डस्टवीन र होडिङ्ग वोर्ड हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शोभाष चन्द्रको अध्यक्षततामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० हिमाली टोल विकास संस्थालाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत सहयोग गरिएको हो । बैंक सञ्चालक समितिका सदस्य संजिव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भरतपुर शाखाका प्रबन्धक काँशिराज कँडेल र कार्यक्रमका प्रमुख पौडेलले संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंक पूर्व शाखा प्रवन्धक प्रदीपकुमार पोखरेल, डा. जीवनकुमार श्रेष्ठ, समितिका सल्लाहकार डा. हरिहर पोख्रेल, चन्द्रप्रसाद सिग्देल, भानुप्रसाद उपाध्याय, प्रेमप्रसाद सुवेदी, खड्गबहादुर श्रेष्ठ, शिवप्रसाद शर्मा, आमा समूहका अध्यक्ष नारायणी लम्सालले कृषि विकास बैंक लि. पुर्याएको योगदान कदर गर्दै कृषि विकास बैंक लि.को प्रगतिको कामना गरे ।
सरस्वतीको मूर्ति राख्न कृषि विकास बैंकद्वारा ३ लाख सहयोग
काठमाडौँ । कृषि विकास बैंक लि. शाखा कार्यालय जितपुरले सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वती मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंक लि.ले रु.३ लाख सहयोग उपलव्ध गराएको छ । नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन ५ नं. प्रदेश सभासद विष्णु पन्थी र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक सुदीपकुमार दहाले संयुक्त रुपमा गर्नु गरेका हुन् । मन्दिर उद्घाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभासद पन्थीले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै कृषि विकास बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पुर्याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत गरे । कार्यक्रममा बैंकका क्षेत्रीय निर्देशक तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि दहालले मूर्ति स्थापनाका लागि रु.३ लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे ।