रामपुरमा जन्मिने छोरीले पाउने भइन्, स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा
काठमाडौं । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौं नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताएका छन् । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नाका साथै प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गरिने नगरप्रमुख थापाले बताए । त्यस्तै, एकल महिलाहरुको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने बताउँदै उनले भने, “नगरलाई स्मार्ट सिटीका रुपमा अघि बढाउन संरचनाहरु बालमैत्री, अपाङ्ग एवं ज्येष्ठ नागरिक मैत्री बनाइनेछ ।” प्रत्येक अवस्थामा स्थानीय सरकारको तीन फरक कार्यक्रमको व्यवस्थाअन्तर्गत बालबालिकालाई शिक्षा, स्वस्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने थापाले बताएका हुन् । त्यसैगरी, ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास भएकाले नगरपालिकाले अनुभव आदानप्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र, चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गरिने र बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवासुविधाबाट वञ्चित गरिने नीति लिइने नगरपालिकाले जनाएको छ । आगामी तीन वर्षभित्र अपेक्षा गरिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नगर, वडा र टोलस्तरीय गौरवका योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न प्राथमिकताका साथ नगर, प्रदेश र सङ्घमा स्रोतको व्यवस्थाका लागि पहल गर्ने उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताएकी हुन् । यसरी, नगरपालिकाले खरको छानोरहित घरका लागि जस्तापाता वितरण, ग्रामीण क्षेत्रमा सडक ट्र्याक खोल्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगार, सडक स्तरोन्नतिका योजनासँगै सेवालाई प्रभावकारी बनाई गुणात्मक भौतिक तथा संस्थागत पूर्वाधार तयार गर्ने नीति समेत लिएको छ । रासस
रुख कटानीकाे आरोपमा अध्यक्ष सहित तीन पक्राउ
काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी बयान लिने कार्य शुरु गरिएको हो । पक्राउ परेका तीन र अन्य केही व्यक्तिको संलग्नतामा सामुदायिक वनमा अवैधरूपमा रुख कटानी भएको खुल्न आएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत निरञ्जन कँडेलले बताएका छन् । “पक्राउ परेका रामकृष्ण चौधरीसँग बयान लिने कार्य पूरा भएको छ”, उनले भने, “अन्यसँग सामान्य सोधपुछ गरिएको छ, केही अन्य व्यक्तिसमेत काठ कटानीमा संलग्न भएको पाइएकाले खोजी कार्य शुरु गरेका छौँ ।” बयानका क्रममा जेठ २७ गतेदेखि सामुदायिक वनमा स्वीकृति नलिई अवैध रूपमा सालका रुख कटानी गर्दै आएको पक्राउ परेकाहरुले बताएको अधिकृत कँडेलले बर्ताउँछन् । पक्राउ परेकाहरुको संलग्नतामा काटिएका २६ गोलिया (२३६ दशमलव ३६ घनफिट) काठ बरामद गरी सवडिभिजन कार्यालयमा घाटगद्दी गरी राखिएको छ । अदालतबाट सात दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । स्थानीयवासी उपभोक्ताको सहयोगमा अवैधरूपमा काठ कटानीमा संलग्न तीनै जनालाई असार ९ गते पक्राउ गरिएको थियो । अवैधरूपमा काठ कटानीमा संलग्न अन्यका लागि पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने कार्य सकिएपछि सरकारी वकिलको राय लिएर अदालतमा पेश गरिने अनुसन्धान अधिकृत कँडेलले बताए । वन ऐनअनुसार अवैध रूपमा रुख कटानी गरी हानी नोक्सानी गर्नेलाई बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद हुने व्यवस्था रहेको छ । रासस
लाखौँ ठगी गर्ने लम्साल पक्राउ
काठमाडौं । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो । लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै रु ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन् । लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । रासस