काठमाडौँ महानगरको मुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती ‘हाइमास’ जडान गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती (हाइमास) जडानको योजना बनाएको छ । अरु सामान्य बत्तीको तुलनामा ‘हाइमास’ ले ठूलो क्षेत्रफलसम्म उज्यालो दिने भएकाले महानगरले सवारी चाप बढी भएका झण्डै २० चोकमा बत्ती जडान गर्न लागिएको जनाएको छ । कुनै पनि चोकमा ‘हाइमास’ बत्ती जडान गरेपछि त्यसले चारैतिर फैलिएर उज्यालो दिने महानगरपालिकाका प्रवक्ता ईश्वर डङ्गोलले बताए । टाढाटाढासम्म उज्यालो दिने यी बत्ती जडानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । उनले भने, “त्यही प्रतिवेदनका आधारमा जडानको काम शुरु हुनेछ ।” बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, चावहिललगायतका स्थानमा हाइमास बत्ती जडान गर्न महानगरपालिकाले बजेटको समेत व्यवस्था गर्ने प्रवक्ता डङ्गोलले बताए । चोकचोकमा बत्ती जडान गर्दा कुन उचाइमा, कता फर्काएर र कसरी जडान गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ । नेपालका लागि ‘हाइमास’ बत्ती नयाँ भएकाले अध्ययनकै लागि लामो समय लागेको उनको भनाइ छ । मुख्य चोकमा राख्न लागेको यो बत्ती यात्रु र चालक दुवैका लागि सहज हुने कामनपाले जनाएको छ । महानगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत मुख्य र भित्री सडकमा गरेर झण्डै १६ हजार बत्ती जडान गरिसकेको छ । महानगरपालिकाले वडा कार्यालयहरुसँगको समन्वयमा बत्ती जडान गरेको हो । रासस
मेडिसिटी अस्पतालमा फोक्सोपछि स्तनको ट्युमरको सफल उपचार
काठमाडौँ । ३ साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिय किशोरीको दुवै स्तनमा रहेका ट्युमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो । उपचारमा संलग्न चिकित्सक डा. ओमविजु पन्तका अनुसार सो किशोरीको बाया स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर रहेको थियो । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा नरहेको उनले बताए । केहि साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको थियो । माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा घाउँहरुको उपचार गर्न सकिने चिकित्सकको भनाइ छ । नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम विजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।
नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित
काठमाडौं । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । गत वर्षको मङ्सिर महिनायता सामाजिक सुरक्षाभत्ता बापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ता बापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ । सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिए, बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ । मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताएका छन् । उनले अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ । रासस