रात्रिकालीन अभियानः ६० प्रतिशत भन्दा बढी बालबालिका सडकमा, घर फर्काउनै गाह्रो’
काठमाडौं । काठमाडौँमा पछिल्लो ६ महिनाको अवधिमा १० पटक रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी भयो । उक्त अभियानमा उद्धार गरिएका १५६ बालबालिकामध्ये १५ जना मात्रै परिवारमा फर्किन चाहे । घर जान नमान्ने १४१ बालबालिका उपत्यकाका विभिन्न पुनःस्थापनगृहमा राखिएको छ । काठमाडौँको ठमेलमा भेटिएका १५ वर्षीय एक बालकको सडकमा हिँड्न एउटा समूह नै छ । तर कोही पनि घर जाने मनस्थितिमा छैनन् । उनले भने, “सडक नै रमाइलो छ, घरमा यस्तो हुँदैन, त्यही भएर जान्न ।” केही वर्षदेखि सडकको फोहरमा रमाउने अनि ‘डेन्ड्राइट–ग्लू’ सुँघेर नशामा बानी परेका बालबालिका भने झन् घरको नामै सुन्न चाहँदैनन् । डेन्ड्राइटलाई प्लास्टिकको थैलोमा राखेर सुँघ्ने अनि नशामा लठ भएर बस्ने, सडकमा मागेर हिँड्ने, चोरी गर्ने, फोहरको थुप्रोबाट खानेकुरा टिपेर खाने, कवाडीका सामग्रीहरु खोजेर बिक्री गर्ने उनीहरुको दैनिकी हो । यस्ता बालबालिका घर जानै मान्दैनन् । घर जानुपर्ने कहरले कतिले आफ्नो ठेगाना बताउँदैनन् । घरमा बुबाआमाको कुटाइ खानुपर्ने कारणले पनि घर नजाने अवस्था रहेको र बाबुआमा नै नभएका बालबालिका पनि घर जान मान्दैनन् । केन्द्रीय बालकल्याण समितिका सूचना अधिकारी रामबहादुर चन्द भन्छन्, “त्यस्ता बालबालिकालाई घर फर्काउन गाह्रो छ, पुनःस्थापन गरिएका बालबालिकासमेत पुनः सडकमै फर्किएका छन्, हाम्रो प्रयास चाहिँ जारी छ ।” बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौँ उपत्यकामा भेटिएका घर जान नमान्ने बालबालिकालाई कुलतबाट छुटाउन पुनःस्थापन केन्द्रमा राख्ने गरेको छ । “कुलतबाट निस्किएपछि ठाउँ ठेगाना बताउने अवस्थामा पुग्न सक्छन्, अनि परिवार खोजेर जिम्मा लगाइन्छ, नभए उनीहरुलाई बाल संरक्षण केन्द्रमा राखेर शिक्षादीक्षाको कार्यक्रम सञ्चालन हुन्छ”, केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम दाहालले भने । परिवार भएका ६० प्रतिशतभन्दा बढी बालबालिका सडकमा पुगेको बालकल्याण समितिको अध्ययनले देखाएको छ । कतिपय लहलहैमा लागेर सडकमा पुग्छन्। सडकमा पुग्ने र बालश्रममा पर्ने करिब ६० प्रतिशत बालबालिकाको परिवार विखण्डनमा परेको पाइएको छ । बाबु विदेशमा भएको र आमाको दोस्रो बिहे भएपछि कतिपय सडकमा पुगेका छन् । बाबुले अर्को बिहे गरेपछि बालबालिका घर छाड्न बाध्य भएका पनि छन् । बाबुआमा भएकाहरु देखासिकीमा राम्रो खाने, घुम्ने र रमाइलो गर्ने चाहनामा घर छाड्ने पनि छन् । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारीलगायतका कारणले बालबालिकाहरु सडकमा पुग्ने गरेका छन् । अघिल्लो वर्ष काठमाडौँबाट ८७३ बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो । तर सडकमा बालबालिका आउने क्रम भने नरोकिँदा समस्या कायमै छ । नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था छ । धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ मा जोखिममा परेका र सडक बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष संरक्षण पाउने हक हुने उल्लेख छ । सडकबालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२ ले सडक बालबालिका उद्धार संरक्षण र पुनः एकीकरण लगायतमा सरकारलाई जिम्मेवार बनाएको छ । तर पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन । बालबालिका सडकमा आउन नदिने कार्यक्रमका विषय भने गौण छ । रासस
क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपालकाे उत्कृष्ट विजयी शुरूवात
काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । नेपालको लागि पवन सर्राफले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ । रासस
मिर्गौला पीडितले पाउने भए निर्वाह भत्ता
काठमाडौं । इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महिनादेखि उपलब्ध गराउने जानकारी दिएका छन् । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पुर्याउन यो कार्यक्रम ल्याएका हौँ”, उनले भने । यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताएका छन् । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताएका हुन् । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । रासस