सामाजिक काममा खर्च गर्ने घोषणा गर्दै वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उनलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन् । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताए । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफैंले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै उनले अब बाँकी कार्यकालको सेवा सुविधा नलिने बताएका हुन्। दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरिद गरी वितरण गर्ने उनको भनाइ छ । “गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो भनेर गुनासो गरिरहेका थिए, तर मलाई चित्त दुखिरहेको थियो कि जनताले केही गरोस् भनेर जिताएर पठाएका हामीले नै सेवा सुविधा पुगेन भन्दै उनीहरुकै टाउकोमा ऋणको भार थपिरहेका छौँ भनेर, त्यहिबेला सेवा सुविधा नलिने भनेर निधो गरेको हूँ”, वडाध्यक्ष शेर्पाले भने । यसरी, सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको उनको भनाइ छ । यस्तै मासिक रूपमा पाउने पारिश्रमिकबापतको रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताएका छन् । आफू जनप्रतिनिधि भएर आएपछि दैनिक भ्रमणभत्ताबापत करिब रु १५ हजार र पारिश्रमिकबापत रु १९ हजार पाउँदै आएको शेर्पाको भनाइ छ । रासस
सावधानः वनको च्याउमा विष हुन्छ
चितवन । मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिएका छन् । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए । अस्पतालको सघन उपचार कक्षमा यस्ता बिरामी लामो समय राख्नुपर्ने बाध्यता हुन्छ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी सबै च्याउ सामान्य नभएर विषालु हुने बताउँछन् । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन् । त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ । च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनले बताए । जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भने, “यिनीहरुमा पहिले नै तयारी विष हुन्छ, ती कीटाणु होइनन् ।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ । विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनले बताउँछन् । विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ । अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए । च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ । पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ । अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताएका छन् । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन् । उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्र रहेको इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङले च्याउ खाएर बिरामी पर्ने अधिकांश ग्रामीण तथा दुर्गम भेगका हुने गरेको बताएकी छिन् । आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका वनका कन्दमूल खान बाध्य हुने अवस्था रहेको छ । गुरुङले च्याउ किनेर मात्र खान अनुरोध गरिएको जानकारी दिए । उनले भुईंच्याउ खानै नहुने बताएका छन् । रासस
माछापुच्छ्रे बैंकद्धारा धनगढीमा राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले धनगढी उप-महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. एक लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । जेठ २३ गते आएको भीषण हावाहुरीका कारण धनगढी उप-महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।