२५ घरबास सञ्चालकले पाए खाद्य स्वच्छतासम्बन्धी तालिम

खलङ्गा । जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालिममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ परिकार बनाई उनीहरुको मन लोभ्याउनका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन् । यसरी, जुम्ला पर्यटनको लागि आकर्षणको क्षेत्र भएकाले यहाँको प्राकृतिक वातावरणसँगै उनीहरूको बसाइँ लम्ब्याउन खाना, खाजा र बसोबासको व्यवस्थाबारे ध्यान दिन तालिम आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमित भुषण सुमनले जानकारी दिए । जय होमस्टेका सञ्चालक मागे रावतले पर्यटक खानादेखि बाससम्म आकर्षण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । रासस

नेशनल माइक्रोफाइनान्सले हावाहुरी पीडितलाई वितरण गर्यो राहत

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि शाखा कार्यालय गेटाद्धारा बिनासकारी हवाहुरी प्रभावित सदस्यहरुको लागी राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । समुह न ८४ की सदस्य रोमादेबी कटेलको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि धनगढी स्थित नेपाल राष्ट्र बैङ्खका प्रमुख निर्देशक निश्चल अधिकारी र बिशिष्ट अथिति सस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा धनगढी स्थित नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दोर्णबहादुर सिंह, बिभिन्न शाखा कार्यालयका प्रमुख, समाजसेवी, अभिभावकहरुको उपस्थिति रहेको थियो । राहतवितरण अन्तर्गत गेटा कैलाली शाखामा आवद्ध रहेका ग्राहक सदस्यहरु मध्ये १३० जना सदस्यहरुलाई जनही चामल १ बोरा, दाल ३ किलो, तेल ३ लिटर, नुन १ पोका,हल्दी १ पोका, र मिक्स मसाला १ पोका समाग्रीहरु वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ ।

मलेसियालाई पराजित गर्दै क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश नेपाल

काठमाडौं । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ । रासस