जापानमै लुके नौ गैरखेलाडी, क्रिकेटका नाममा मानवतस्कर

  काठमाडौं १५, भदौ , काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । गत १५ जुलाईमा जापानमा आयोजना भएको होण्डा कप क्रिकेट प्रतियोगितामा सहभागि हुन गएका १८ जनाको टोली जापान गएको थियो । त्यो टोलीमा सातजना क्रिकेटर, दुइजना पदाधिकारी र नौ जना गैरखेलाडी थिए । सोही गैरखेलाडी जापानमै लुकेर बसेका हुन । जापानमै लुकेका गैरखेलाडी रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य बानियाँ नरेन्द्र बुढा सुन्दरकुमार ओली श्यामकुमार पुन डेन्डी शेर्पा लक्ष्मण छन्त्याल अन्नपूर्ण पोष्टबाट

हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते

काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।

१० लाखमा गोठजत्रो घर बनाउनेसँग स्पष्टिकरण

काठमाडौं  १०, भदौ । गोरखाका बिभिन्न ठाउँमा १० लाख खर्च गरेर खोरजत्रो घर बनाएको क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)सँग जिल्ला विकास समिति, गोरखाले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले गैरसरकारी संस्थाले गरेको कामको बारेमा लिखित जवाफ माग गरिएको जानकारी दिए । ‘समाचारमा आएको बिषय मा के कसो भएको हो तीन दिनभित्र सबै बिबरण सहित लिखित जवाफ पेश गर्नू भनेर हामीले पत्र पठाएका छौं’, स्थानीय विकास अधिकारी आचार्यले भने ‘उनीहरुको जवाफ आएपछि त्यसको गहन अध्ययन गरी दोस्रो चरणमा के गर्नुपर्छ गर्छौं ।’ उनले सिआरएससँग यसअघि मौखिक रूपमा पनि सोधपुछ गरेको बताए । ‘मौखिक जवाफ माग्दा सो घर बस्ने प्रयोजनका लागि नभई डमीका लागि मात्र बनाएको हो भने’, स्थानीय विकास अधिकारीले उनीहरुको भनाइ उद्धृत गर्दै भने, ‘प्रशिक्षार्थीहरुलाई तालिम दिँदा सो घर बनाएको भनेका थिए ।’ लिखित जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।