दुई अर्ब ३६ करोडको लागतमा बनेको वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । वीर अस्पताल पछिल्लो दिनमा गर्व गर्न लायक अस्पताल बन्दै गइरहेको उहाँले औँल्याए । अस्पतालमा कार्यरत कर्मचारी कर्तव्यनिष्ठ भएर काममा लाग्न उनले निर्देशन दिए । उनले भने, “म यो अस्पतालमा काम गर्छु भन्दा आफूलाई गर्व लाग्ने गरेर काममा लाग्नुपर्छ ।” चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा देवनारायण साहले नयाँ भवन निर्माण भएपछि जनआकाङ्क्षा बढ्ने हुँदा कर्मचारीले पनि थप काम गर्नुपर्ने बताए । कार्यरत कर्मचारी थप अनुशासित भएर काम गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “कर्मचारीहरु समयमा नै अस्पतालमा आउने र आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ ।” विसं २०७२ को भूकम्पका समयमा अस्पतालको यो भवन क्षतिग्रस्त बनेपछि जाइकाले पुनःनिर्माण शुरु गरेको हो । नवनिर्मित भवनमा कोर्डियोलोजी, ग्यास्ट्रोलोजी र नेफ्रोलोजी विभाग रहने अस्पतालले जनाएको छ । जाइकाले यो अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल एउटै आयोजनामा निर्माण गरेको हो । दुवै अस्पतालको गरेर जम्मा लागत रु दुई अर्ब ३६ करोड रहेको छ ।
मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण हुँदै, लागत लक्ष्य तीन करोड
दमौली । तनहुँको व्यास नगरपालिका–४ मा निर्माण हुँदै गरेको प्यागोडा शैलीको मन्दिरका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले रु ११ लाख सहयोग गरेका छन् । बागभञ्ज्याङ सामुदायिक वनभित्र निर्माण हुँदै गरेको तनहुँ कालिका मन्दिरका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ, बागभञ्ज्याङ सामुदायिक वन, शीतलचोक राधाकृष्ण आमा समूहलगायतले रु ११ लाख ५५ सहयोग गरेका हुन् । मन्दिर निर्माणका लागि एकाइ र सामुदायिक वनले रु चार/चार लाख सहयोग गरेको छ भने आमा समूहले रु दुई लाख ७५ हजार सहयोग गरेको तनहुँ कालिका शहीद शान्ति पार्क उपभोक्ता समितिका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । उनका अनुसार हरिओम टोल आमा समूहले पनि रु २५ हजार ५५ सहयोग गरेको छ । मन्दिर निर्माण सम्पन्न गर्नका लागि प्राप्त भएको रकमले सहयोग पुग्ने समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताएका छन् । कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको छ । मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको टुँडाल हाल्ने क्रम जारी छ । मन्दिर तामाको छानोले छाइनेछ । “विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट नै मन्दिर निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ”, समितिका कोषाध्यक्ष रानाले भने, “दाताको सहयोग प्राप्त नभएको मन्दिर आज यो अवस्थासम्म आइपुग्न गाह्रो हुन्थ्यो ।” तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले मन्दिरले दमौली बजारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् । करिब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहे पनि मन्दिर निर्माणका लागि रकम अपुग हुने पार्कले जनाएको छ । रासस
भीमसेन मन्दिर निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठद्वारा एक करोड सहयोग
काठमाडौँ । व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गरेका छन् । पुख्र्यौली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गरेका हुन् । उनले चेक ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)का प्रमुख डा रोहित रञ्जितकारलाई हस्तान्तरण गरे । प्यागोडा शैलीमा निर्मित यो मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक रु चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ । ललितपुर महानगरपालिकाले रु एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् ।