असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, शास्त्रीय मान्यताअनुसार भोजन निषेध
काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ । रासस
सिद्धार्थ बैंकद्वारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार आर्थिक सहयोग
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई रू. दुई लाखपचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ । गैर सरकारी संगठनसंग संग्लग्नभई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारकालागि ट्रष्टले काम गर्दै आएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।
हङकङलाई हराउँदै नेपाल च्याम्पियन,एशिया कपमा प्रवेश
काठमाडौं । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस जितसँगै नेपाल यु –१९ एशिया कपमा समेत एशिया कपमा प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे । बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक /एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । रासस