इजरायलमा पढ्न ९७ हजार घर परिवारबाट १०० जना मात्रै छनौट

काठमाडौं । इजरायलमा कृषि शिप सम्बन्धि बढ्न जानको लागि सय जना विद्यार्थीहरु छनौट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा मंलबार गरेको साना किसान कृषि तालिम कार्यक्रममा इजरायल पढ्न जाने विद्यार्थीको बारेमा प्रकाश परिएको थियो । दुतावासको अनुसार ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीहरुमध्ये गोला प्रथाबाट २ सय छानिएका थिए । त्यसमध्ये पनि स्वास्थ्य परिक्षण, प्लस टु पास लगायतका मापदण्ड पुरा गरेका एक सय विद्यार्थी मात्र छनोटमा परेका हुन् । यस वर्ष इजरायलमा ५ सय ४० जना विद्यार्थीहरु कृषि शिप सम्बन्धि पढ्न जाने कार्यक्रम रहेकाे दुतावासले जानकारी गराएको छ । दुतावासकोअनुसार आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर सुहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि शिप सम्बन्धि तालिम लिनेछन् । जसमा २५ प्रतिशत महिला सहभागी छन् । हालसम्म २ हजार एक सय ४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन् । ५ सय ४३ जना अहिले पनि इजरायमै छन् । साना किसान बैंकका अधिकृत मनिष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कार्यक्रमलार्इ सम्बोधन गरेका थिए । कार्यक्रममा उनले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताए । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने जानकारी गराए ।  

जेठ भर खाद्य स्वच्छता दिवस मनाउदै खाद्य विभाग, सरसफाईदेखि अनुगमनसम्मको कार्यक्रम

काठमाडौं । जेठ महिनाभर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता दिवस–२०७५ मनाउने भएको छ । खाद्य स्वच्छता र गुणस्तर बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभागले उक्त दिवस मनाउने भएको हो । विगभागको संयोजनमा आव २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि ‘दशौं खाद्य स्वच्छता दिवस २०७५’ मनाउन लागेको हो । विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै दिवस सम्बन्धमा जानकारी गराएको छ । कार्यक्रममा विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवस मुलुकको लागि महत्वपुर्ण भएको बताए । सरोकारवाला सबैलाई यसलाई खुसीको अवसरको रुपमा लिन पर्ने उनको बुझाइ छ । ‘यसैलाई मध्यनजर गर्दै अबदेखि अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको सेरोफेरोमा जुन ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा हरेक वर्ष मनाइने छ,’ उनले भने । उनकोअनुसार खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले दश वर्ष अघि उक्त अभियान शुरु गरेको थियो । अभियानलाई समर्थन गर्दै विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको संयुक्त आयोग (कोडेक्स) को ३० औं बैठकबाट जुन महिनाको ७ तारिखलाई अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन सिफारीस गरेबाट विभाग थप उत्साहित भएको छ । ‘हामी सबैको सरोकारवः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न क्षेत्रको भूमिकालाई महत्व दिदै विगभाले दिवस मनाउने विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । दिवसमार्फत खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सम्पुर्ण उपभोक्तासम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । उनको अनुसार उपभोक्ताहरुहित सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन नहुने कलेजहरू लगायतमा जनचेतनाका प्रदान गरिनेछ । दिवस भव्यताका साथ सम्पन्न गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय उद्योग वाणिज्य क्षेत्रका उपभोक्तावादी संघ सँस्था पत्रकारहरुका संघ सँस्था लगायतबाट प्रतिनिधित्व हुने गरी सदस्यीय एक मूल समिति र विभिन्न २५ वटा उप समितिहरुमार्फत् कार्य अघि बढाएको जानकारी उनले जानकारी गराए । उनको अनुसार विभागले दिवस मनाउनेक्रममा सरसफाइ देखि मुलुकभरका विभिन्न स्थानहरुमा अनुगमनको कार्यक्रम तय गरेको छ । केन्द्रदेखि मुलुकमा विभिन्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ ।

सिद्धार्थ फाउन्डेसनद्धारा मातृसेवा परियोजनालाई ४ लाखकाे आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजनालाई ४ लाख ८ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम मंगलबार एक समारोहका बीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले फेज नेपालका अध्यक्ष्य राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् । सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने छ । उक्त कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराएका छन् ।