पहिलो रोड सेफ्टी फिल्म फेस्टिभल असारमा, उत्कृष्टलाई ५० हजार
काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिनेछ । आगामी जुलाई २ र ३ (असार १८ र १९) मा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन हुनेछ । नासा फाउन्डेसनले विभिन्न संघ संस्थाको सहकार्यमा सो फेस्टिभल आयोजना गर्न लागिएको हो । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन अन्तर्गतको कल्याणकारी संस्था हो । फेस्टिभलमा बढीमा १० मिनेट सम्मका लगभग २ दर्जन फिल्म प्रदर्शन गरिने छ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ । फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन पनि हुनेछ । सडक दुर्घटना संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ । नासा फाउन्डेसनका अनुसार आज संसारमा वार्षिक रुपमा १४ लाखभन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सयभन्दा बढीको अनाहक ज्यान जाने गरेको छ । नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अरबाैको क्षति भइरहेको छ ।
यति फ्लोरिङले सम्मान स्वरुप सन्दिप लामिछानेलाई दियो एक लाख रुपैयाँ
काठमाडौं । यति फ्लोरिङले प्रा.लि.ले युवा खेलाडी सन्दिप लामिछानेलाई सम्मान स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाउन सफल भएका लामिछानेलाई आगामी यात्राको लागि शुभकामना स्वरुप उक्त सम्मान गरेको हो । कार्यक्रममा यति फलोरिङ्गको तर्फबाट निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले सम्मानका साथसाथै १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा खेलाडी लामिछानेले भने, ‘यो देशको नाम उच्च राख्न तथा हरेक नेपालीको चाहना म माथि पुगोस भन्ने छ यसलाई साकार पार्न पुन अत्यन्त मिहेनत गर्नेछु । मैले इन्डियन प्रिमियर लिग म्याचमा जसरी अवसर पाएर हजारौ खेलाडीहरुको प्रतिस्पर्धामा छानिन सफल भए यो मेरो मात्र नभई सिङ्गो देशको गौरवको बिषय हो ।’ त्यस्तै, प्रालिका कर्पोरेट प्रमुख राजकुमार शाहले सन्दिपको यो साहसलाई, मिहेनतलाई, लगनशीलतालाई सलाम गरेका छन् । स्वदेशी पुँजी स्वदेशमै लगानी गरि बिदेश पलायन हुनबाट रोक्न यस यति फलोरिङ्गले बिगत २५ बर्षदेखि हरेक नेपालीको मन मनमा यति कार्पेट उत्पादन गरि बिक्री बितरण गर्दै आइरहेको छ ।
सांसद दवाडीको पहिलो तलब शिक्षा क्षेत्रमा खर्च
काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए । उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय नाथकोटमा ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि, कलम वितरण गरिने सांसद दवाडीले बताए । लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका उनी विसं २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।