दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके
काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।
दशैंमा पैसा पठाउनेलाई नगददेखि घरसम्मको योजना, विदेशबाट पैसा पठाउने ग्राहक तान्दै रेमिट्यान्स कम्पनी
काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनलेले यो उपहार पाउनेछन् । अन्य समयभन्दा चाढपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दशैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनीले उपहार योजना ल्याउने गरेका हुन् । वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन ग्राहकलाई प्रोत्साहन गर्ने उदेश्यलेघडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।
पुनर्निर्माणमा सांसद परिचालित हुने, भूकम्पप्रभावित जिल्लामा पुनर्निमाणको अगुवाई लिने काम संसदले गर्ने
काठमाडौं १९, असोज । पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ । मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यसअघि नै सांसदहरू मनोनयन गर्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । ‘नीतिगत निर्णय भएर पनि सांसदहरूको छनोट भएको थिएन,’ प्रधानमन्त्रीले भने, ‘अब छिटै मनोनयन हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ४५ दिने अभियानअन्तर्गत जनतालाई आवास अनुदान वितरण गर्ने काम सन्तोषजनक नै भएको पनि बताए । उनले आफूले भूकम्पपीडितलाई राहत दिने विषयमा पहिलेदेखि नै आफू संवेदनशील भएको भन्दै पुनर्निर्माणमा थप गति दिनुपर्नेमा जोड दिए । बैठकले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठनका लागि प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले आवश्यक परामर्शपछि सहजीकरण समितिको गठन गर्ने बताए । ‘यो समिति छिटै गठन गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने । सहजीकरण समितिमा बढीमा ११ जना सदस्य रहने व्यवस्था छ ।