पश्चिमाञ्चल विकास मञ्चद्धारा विभिन्न व्यक्तिलाई सम्मान

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र व्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ र अध्यक्ष ढकालले प्रमाण –पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान्याधीश श्रेष्ठले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाइ एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चलविकास मञ्च सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूलधारमा लगाउन प्रेरणा मिलेको बताए । मञ्चका अध्यक्ष एवं आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई इण्डियाको नाका सुनौली र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यवस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गरे । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । २०६२ मा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध भएको सो मञ्चले जनाएको छ ।

गभर्नर नेपालको छोरी शुभेच्छाको विवाह मंसिर २३ गते, विवाहको तयारीमा गभर्नर कार्यालय व्यस्त

काठमाडौं, १५ मंसिर । गभर्नर डा. चिरन्जीवि नेपालको छोरी शुभेच्छा नेपालको मंसिर २३ गते विवाह तय भएको छ । विवाह गभर्नर निवास दुर्गादेवी मार्ग, महाराजगञ्जमा गर्ने तयारी छ । गभर्नर छोरी शुभेच्छाको विवाह प्रतिक अधिकारीसँग हुन लागेको हो । उनी प्रदिप कुमार अधिकारी र सविता अधिकारीकी छोरा हुन् । पारिवारिक स्रोतका अनुसार विवाह २३ गते भएपनि स्वयम्भवर मंसिर २० गते हुनेछ । विवाह भोज भोज २०, २१ र २१ गते तीन दिन गर्न लागिएको छ । विवाहको निम्ताको लागि करिव ५ हजार प्रति निमन्त्रणा कार्ड छापिएको छ । ४ हजार प्रति निमान्त्रणा कार्ड नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयले वितरण गर्दैछ । गभर्नर कार्यालय स्रोतका अनुसार सरकारका उच्च अधिकारीहरू, राजनीतिक दलका उच्च नेतृत्व, बैक तथा वित्तीय संस्थाहरूका अध्यक्ष, सञ्चालक, उच्च व्यवस्थापक, विभिन्न क्षेत्रमा स्थापित व्यवसायीहरू, विश्वविद्यालयका प्रध्यापकहरू, सञ्चारकर्मी, गभर्नर नेपालसँग व्यक्तिगत निकट सम्बन्ध भएका विभिन्न पेशाका पेशाकर्मीहरूलाई विवाह भोजमा निमन्त्रणा गरिएको छ । गर्भनर नेपालको छोरीको विवाहलाई सघाउन नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालय गत सातादेखि नै व्यस्त रहेको छ । यसैबीच गभर्नर नेपाललाई खुशी बनाएर आफ्नो स्वार्थ पूरा गर्न चाहाने बैकर्स तथा व्यवसायीहरु विवाहको अवसरमा आकर्षक उपहार प्रदान गर्न आतुर देखिएका छन् ।

माछापुच्छ्रे बैंकको एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंकले नारायणचौर नक्सालमा करिब २ सय जनाको निःशुल्क प्रभातकालीन स्वास्थ्य परीक्षण गरेको छ। मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको छ। बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर निःशुल्क शिविरका साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ । बैंकले वर्षैभरी देशका बिभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने जनाएको छ ।