३९ लाख सरकारी पैसा जुवामा हारेर गाविससचिव बेपत्ता, थप ३९ लाख पनि हिनामिनाको आरोप
काठमाडौं ९, मंसिर । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख ? होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा। डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन्। सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए। उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए। त्यसपछि सम्पर्कमा नरहेको जिल्ला विकास समिति डोटीले जनाएको छ। डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंह गाविससचिव सिंहले तिहारअघि सामाजिक सुरक्षा वितरणका लागि डोटीको पोखरी गाविसको २४ लाख ९४ हजार चार सय र जिजौडामाडौंको १४ लाख ६ हजार गरी ३९ लाख रुपैयाँ बुझेका थिए। तिहारको लक्ष्मीपूजाका दिन जुवामा अधिकांश रकम हारेपछि उनी बेपत्ता भएको स्थानीय विकास अधिकारी कृष्ण गौतमले बताए। प्रत्येक महिनाको ४ गते जिविसमा गाविससचिवहरूको बैठक बस्ने गर्छ। उनी पछिल्ला दुवै बैठकमा अनुपस्थित भएको एलडिओ कृष्ण गौतमले बताए। जिविसले गाविसको खातामा दसैँअघि नै हालिदिएको सामाजिक सुरक्षा भत्ता सचिव सिंहले बाँडेका थिएनन्। तर, स्थानीयले समयमा नै गुनासो नगरेकाले अनियमितताको छानबिन ढिलाइ भएको गौतमले बताए। सिंह भने दसैँदेखि नै जिविसको सम्पर्कमा नरहेको गौतमको भनाइ छ। ‘प्रत्येक महिना हुने बैठकमा लगातार दुईपटक अनुपस्थित भएपछि खोजी ग¥यौँ,’ एलडिओ गौतमले भने, ‘उनी सुरुमा सम्पर्कमा थिए, पछि बेपत्ता भए।’ तर पछिल्लो समय जिविसको सामाजिक सुरक्षा शाखा प्रमुख राम विष्टसँग सम्पर्कमा आएका सिंहले केही दिनमै रकम लिएर आउने बताएको गौतमको भनाइ छ। सचिव ईश्वरबहादुर सिंह धनगढी जुगेडीका स्थानीय हुन्। सामाजिक सुरक्षाको भत्ता बैंकबाट झिकेर उनी दसैँअघि नै घर गएका थिए। उनका छिमेकीका अनुसार घरनजिकै उनले जुवा खेलेका थिए। भत्ताको अधिकांश रकम जुवामा हारेपछि उनी जिविसको सम्पर्कमा छैनन्। स्थानीय विकास अधिकारी कृष्ण गौतमले सचिव ईश्वरबहादुर सिंह सम्पर्कमा नआएपछि खोजी गर्न जिल्ला प्रशासनमा पत्र पठाएको बताए। अब जिल्ला प्रशासनले नै कारबाही गर्ने उनको भनाइ छ। गौतमले सामाजिक सुरक्षा भत्ताबाहेक गाविसको बैंक खाताबाट कति रकम झिके भन्नबारे पनि छानबिन भइरहेको उनको भनाइ छ। ‘दसैँमै बाँडिनुपर्ने भत्ता बाँडिएन, कार्यालय पनि नआएपछि खोजी गर्दा पटक–पटक आउँदै छु भनेर ढाँटे, पछि सम्पर्कमै आएनन्,’ गौतमले भने, ‘राष्ट्रिय वाणिज्य बैंकसँग स्टेटमेन्ट मागेका छौँ, कति झिकियो भन्ने बैंक स्टेटमेन्ट आएपछि थाहा हुन्छ।’ गत साउनदेखि जिम्मेवारी सम्हालेका सिंहले दुवै गाविसको बैंक खाताबाट थप २९ लाखसमेत झिकेको स्रोतको दाबी छ। पोखरी गाविसको सडक निर्माण, मोटरसाइकल खरिद र ल्यापटप खरिदको रुपैयाँ झिकिएको हो। तर, सो रकम सदुपयोग गरे वा नगरेको विषयमा अध्ययन भइरहेको जिविस स्रोतको भनाइ छ। नयाँ पत्रिका दैनिकबाट ।
सोलुका भूकम्पपीडित भन्छन्, “कि देउ, कि दिन्न भन”
सोलुखुम्बु, ८ मङ्सिर । दूधकुण्ड नगरपालिका–१ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो, केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाए, त्यसयता शेर्पाको सातजनाको परिवार त्यही छाप्रोमा बस्दै आएको छ । नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ कि बिहान उठ्दा सबैको आँखा सुन्निएको हुन्छ, अनि बिहान करिब २ बजेदेखि जस्ताबाट झरेको शीतले ओढ्ने ओछ्याउने सबै भिजाइदिन्छ, तैपनि उनको विकल्प छैन । चिसो सुरु हुनासाथ बालबालिका बिरामी पर्न थालेको भए पनि बाध्यताले यही छाप्रोमा बस्नु परेको शेर्पाले गुनासो गरे । उनले घर बनाउनका लागि अघिल्लो हिउँदमै भत्किएको घरको अवशेष पन्छाएर घडेरी तयार गरे, ढुङ्गा र काठ पनि तयार छ, तर पर्खाइ छ — सरकारले दिने भनेको अनुदानको । “सरकारले अनुदान दिन्छ भन्छन्, बनाऊँ भने नदेला, कि दिन्न भने चौँरीगोठ बेचेर भए पनि बनाउँथे, किन यसरी झुक्याएको हो सरकारले पनि ”, निरास हुँदै शेर्पाले भने । जाङमु शेर्पा त अत्यन्तै चिसो बढेको सोलुखुम्बुमा रहेका भुकम्पपीडितको उदाहरण पात्र मात्र हुनुहुन्छ । भूकम्पले घर पूर्णक्षति भएका सोलुखुम्बुका नौ हजार ६ सयमध्ये केहीले मात्र नयाँ घर बनाएका छन्, केही घरपरिवार जोखिम मोलेर त्यही भत्कन लागेको घरमा बस्छन् भने अधिकांश पीडित त्रिपाल तथा जस्ताको छानो भएको छाप्रोमै गुजारा गरिरहेका छन् । चौलाखर्क–३ सोलुखुम्बुका रोहित बस्नेत भन्छन्, “कि दिनु, कि दिन्न भन्नु, गरिबलाई आशा देखाएर राख्न पाइन्छ ऋण गरेर घर बनाऊँ भने सरकारले दिन्छु भनेको छ, आश लाग्छ, नबनाउँ भने ७० वर्ष पुगिसकेका बुढाबुढी चिसोले रातभर काँप्नुपर्ने अबस्था छ ।” घर बनाउनका लागि काठपातलगायत सामग्री अघिल्लो वर्षदेखि तयार गरेर बस्नुभएका बस्नेत ‘बनाउ, पछि पैसा दिन्छु’ भनेमा पनि आफू बस्ने घर बलियोसँगै बनाउने बताउँछन् । कात्तिक पहिलो हप्तादेखि नै सोलुखुम्बुमा चिसो अत्यन्तै बढेको छ । दिउँसो काम गर्दा त चिसोको वास्ता नभए पनि छाप्रोमा काँप्दै रात बिताउन आफूहरुलाई निकै समस्या पर्ने गरेको पीडित बताउँछन् । सोलुखुम्बु भूकम्पबाट अति प्रभावित १४ जिल्लाको सूचीमा नपरेकाले केही ढिला भएको र कहिलेदेखि सोलुखुम्बुमा अनुदान वितरणको काम सुरु हुने भन्ने प्राधिकरणबाट कुनै जानकारी नआएकाले यसै भन्न नसकिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले बताए । रासस
यु–१९ एसिया कप क्रिकेटः ५२ जना खेलाडीको छनोट
काठमाडौँ, ७ मङ्सिर । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौँ, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको थियो । त्यहाँबाट छनोट भएका र उन्नाइस वर्षमुनि टोलीबाट यसअघि नै खेलिसकेका खेलाडीसहित ५२ जना प्रारम्भिक चरणमा छनोट भएका हुन् । छनोट हुने खेलाडीमा अभिनाष कर्ण, सुशान्त सिंह थापा, मुकुन्द यादव, सन्दिप ढुङ्गाना, अनिल कुमार थापा, फिर्तोश अन्सारी, ललित नारायण राजवंशी, आसिफ शेख, अनिल कुमार साह, अस्चल थारु चौधरी, रिजन ढकाल, राशिद खान, पवन शर्राफ, रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टण्डन, सन्दिप जोहरा, आयुषमान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, र शुभाङ्कर उराउ छन् । त्यसैगरी अमन पन्थी, सागर भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, सुमन पाण्डे, सन्दिप लामिछाने, रोहित पौडेल, देव खनाल, समसद आलम, प्रकाश केसी, धिरज शाही, कमल सिंह ऐरी, साह आलम, विक्रम भुसाल, रवीन्द्र शाही, प्रनित थापा मगर, विजय चौधरी, विक्रम ठगुन्ना, अफजल खान, लोकेश चन्द, भीम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, किशोर महतो, नन्दनकुमार यादव, दिव्यांशु मल्लिक, मोहम्मद हुसैन र अनिल विश्वकर्मा पनि छनोट भएका छन् । रासस