उपेन्द्र महतोको अस्पतालमा चरम लापरवाही, मेडिसिटी अस्पतालले एड्स लागेको भनिएको विरामीमा एड्स नभएको अन्य दुई ल्याब रिपोर्टको निष्कर्ष

काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोको लगानीमा खुलेकाे र अन्तराष्ट्रियस्तरको भनिएको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आएको एक महिना पनि भएको छैन । तर, अस्पतालले भने गलत रिपोर्ट बनाएर चरम लापरवाही गरेको खबर बाहिर आएको छ । मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी  गर्भवती महिलालाई एचआईभी संक्रमण भएको गलत रिपोर्ट दिएको खुलासा भएको छ । अस्पतालको ल्याबले लोकन्थलीकी उमा (नाम परिवर्तन) को रगत परिक्षणको गलत रिपोर्ट दिएपछि बिरामी र उनका श्रीमानले पाँच दिनसम्म मानसिक तनाव बेहोर्नुपर्‍यो । नेपाल मेडिसिटी अस्पतालले दिएको ल्याब रिपोर्ट अस्पतालले उमालाई एचआईभीको संक्रमण भएको रिपोर्ट दिएपछि अर्को संस्थामा दुई पटकसम्म रगत परिक्षण गराउँदा यो रोग नभएको पुष्टि भयो । अस्पतालको ल्याबले दिएको रिपोर्ट र अर्को अस्पतालबाट आएको रिपोर्ट फरकफरक भएपछि बिरामी पक्ष आक्रोशित भएका थिए । उमाका पति मनोज(नाम परिवर्तन)का अनुसार गर्भवती सम्बन्धी नियमित चेकजाँचका लागि मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँबाट डा. निरा सिंह श्रेष्ठले उनलाई रगत परिक्षणका लागि ल्याब पठाइन् । गत असोज २६ गते चिकित्सकको सल्लाह अनुसार ल्याबमा रगत परिक्षण गराउँदा उनको रगतमा एचआईभी पोजेटिभ देखियो । ‘डाक्टरले रगत परिक्षण गर्नुपर्ने सल्लाह दियो । त्यतिबेला अस्पतालले एभआईभी पोजेटिभ छ भनेर रिपोर्ट दिएपछि हामीलाई तनाव भयो,’ मनोजले भने । दुई दिनपछि चित्त नबुझेर अर्को पटक जावलाखेलको साम्याक डाइग्नोस्टिक ल्याबमा पुन: रगत परीक्षण गरिन् । दोस्रो पटकको परीक्षणमा एचआईभी नेगेटिभ देखियो । सोही दिन पुन : तेस्रो पटक रगत परिक्षणको लागि भारतको मेट्रोपोलिस हेल्थकेयर पठाइयो । तिहारपछि भारतबाट रिपोर्ट आएपछि एचआईभी नेगेटिभ नै रहेको पुष्टि भयो । रगत परिक्षणको रिपोर्ट देखाउँदै मनोजले भने, ‘अन्तराष्ट्रिय स्तरको अस्पताल भनेर चर्चा भएपछि उचित तवरको उपचारका लागि मेडिसिटी गएका थियौं । सर्वसाधारणको स्वास्थ्य उपचारको नाममा यो चरम लापरबाही हो ।’ उनले अन्तराष्ट्रिय स्तरको उपचारको नाममा स्वास्थ्य माथि खेलबाड मानसिक तनाव हुने गलत रिपोर्ट दिने अस्पताल माथि कारबाही हुनुपर्ने उनले बताए । वास्तविक रिपोर्ट लिएर अस्पताल गएका दम्पती अस्पतालका निर्देशक डा. सुनिल शर्मा कहाँ गए । डाक्टरले त्यस्तो हुनु नपर्ने बताउँदै थप परिक्षणका लागि भनेपछि आफू फर्केको उनले बताए । अन्तराष्ट्रिय स्तरको भनिएको मेडिसिटी अस्पतालले सेन्टर अफ डिजिज कन्ट्रोल (सिडिसी) को मापदण्ड पनि पालना नगरेको पाइएको छ । साम्याकका डाक्टर किओर गौतमका अनुसार अस्पतालले पहिलो रिपोर्टमा एचआईभी संक्रमण देखाएपछि दुई पटकसम्म पुन: जाँच गर्नुपर्छ । ‘उहाँहरु शंका लागेर साम्याक आउनुभयो,’ उनले भने, ‘दुई पटक रगत परिक्षणमा गर्दा नी एचआईभी नेगेटिभ देखायो । त्यतीपनि चित्त नबुझेर रगतको नमुना भारत पठाइयो । उताबाट पनि नेगेटिभ आएपछि सबैजना ढुक्क भयौं ।’ विकासन्युजलाई प्राप्त ल्याब रिपोर्ट : मेट्रोपोलिस प्याथोलोजी ल्याबको रिपोर्ट साम्याकको रिपोर्ट

टिभिएसद्धारा एभरेष्ट प्रिमीयर लिग क्रिकेट प्रतियोगिता प्रायोजन, पुस ४ गतेदेखि शुरु

काठमाडौं । टिभिएस कम्पनीले नेपालको एभरेष्ट प्रिमीयर लिगक्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ । काठमाडौमा भएको एक समारोहमा टिभिएसको वितरक जगदम्बा मोटर्स प्रालि र एभरेष्ट प्रिमीयर लिगले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त प्रतियोगिता आगामी पुस ४ गतेदेखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग राउन्ड रोबिन लिगको ढाँचामा सञ्चालन हुनेछ । १२ दिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतियोगीता खेल्ने छन् । उक्त क्रिकेट प्रतियोगीताको कुल पुरस्कार राशी २१ लाख रुपैंया रहेको छ । देशकै सबैभन्दा ठुलो क्रिकेट प्रतियोगीतामा प्रमुख प्रायोजन गरि सम्पुर्ण क्रिकेटको समृद्धिलाई टेवा पुर्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ । जसरी क्रिकेट खेलले मेहनत, प्रतिवद्धता र उत्कृष्टतालाई प्रतिविम्वित गर्दछ, त्यसैगरी टिभिएस मोटर कम्पनीले पनि गर्दछ । नेपालको प्रख्यात क्रिकेट प्रतियोगीता एभरेष्ट प्रिमीयर लिगसंग सहकार्य गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रमुख उपाध्यक्ष आर दिलीपले बताएका छन् । त्यस्तै, जगदम्बामोटर्सका प्रमुखनिर्देशक शहिलअग्रवालले पनि टिभिएस मोटर कम्पनी र जगदम्बा मोटर, नेपाली क्रिकेट खेलसँग सहकार्य गर्न अत्यन्त उत्साहित भएको जनाएका छन् । सम्पुर्ण नेपाली क्रिकेट पे्रमीयुवायुवती बिच क्रिकेट खेललाई लोकप्रिय बनाउन यो सहकार्यले ठुलो भुमिका निर्वाह गर्ने उनले बताए । साथै, युवा खेलाडि तथा िक्रकेट प्रेमीहरुलाइ यो प्रतियोगीताले अझै सहयोग गर्नेछ । एभरेष्ट प्रिमीयर लिग आफ्नो सुरुवाती दिन देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट पे्रमीहरुको ध्यान खिच्दै आइरहनुका साथै व्यावसायिक संघ संस्थाहरुकोलाई आफ्नो वस्तुको बजारीकरण गर्ने माध्यम बन्दै गएको छ । टिभिएस मोटर कम्पनी, एभरेष्ट प्रिमीयर लिग जस्तो प्रख्यात क्रिकेट प्रतियोगीताको प्रमुख प्रायोजक हुन पाउँदा अत्यन्त गौरव महसुस गरेको एभरेष्ट प्रिमीयर लिगका प्रमुखनिर्देशक आमीर अख्तरले बताए ।

तीन महिनामा २६३ पसल अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो । अनुगमनका क्रममा कालोबजारी गर्ने एक पसलेविरुद्ध मुद्दा दर्ता गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सो क्रममा ६ वटा औषधि पसल, दुईवटा पाउरोटी उद्योग, चारवटा अमिलो उद्योग बन्द गराइएको थियो । म्याद नाघेका, अखाद्य बस्तु बिक्री गरेको, अनुमति नलिइ सञ्चालन गरेका कारण बन्द गराइएको उनले बताए । यस्तै पाँचवटा पसलको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको शर्माले बताए । अनुगमनका क्रममा ११२ बोतल तार्पिन तेल, ६७३ बोतल हल्का पेय पदार्थ र ८० प्याकेट बिस्कुट नष्ट गरिएको उनले बताए । तीन जनालाई सचेत गराइ छाडिएको शर्माले बताएका छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा २८५ वटा पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ५६ जनालाई सचेत गराइ छाडिएको थियो । कार्यालयकाअनुसार अहिले अघिल्लो आव र चालु आवका गरी ३५ वटा मुद्दा दर्ताको तयारी गरिएको छ । रासस