जापानी विदेशमन्त्री नेपाल आउँदै, बुधबार हवाई सम्झौता हुने

काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बुधबार अपराह्न राजधानी आउँदै छन् । भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवद्र्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र उनका जापानी समकक्षी कोनो नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरु जस्तै कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास‚ पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोग, नेपालमा जापानी लगानी प्रवद्र्धन‚ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट हुनसक्ने सहयोगका क्षेत्र पहिल्याउनेबारेमा गहन विचारविमर्श हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिए । जापान सरकारले नेपालीहरूका लागि हालै त्यहाँ रोजगारीका अवसर खुला गरेको सन्दर्भमा त्यसबारे विस्तृत छलफल, प्रक्रियागत समस्या निरुपण, नेपाल वायुसेवा निगमको विमानलाई जापानको ओसाका र नारिता विमानस्थलमा शीघ्र उडान तथा अवतरण गरेर दुई देशबीच सिधा सम्पर्क स्थापना, नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापान सरकारबाट प्राप्त सहयोग तथा त्यसको दायरा विस्तार, भूकम्पपछिको पुनर्निर्माणमा भएका प्रगतिलगायत पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श हुने उनले बताए । कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, बजार विकास तथा मूल्य शृङखलामा सहायता विस्तार, जैविक खेती, लगानी प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणबारे पनि गहन छलफल हुनेछ । द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रितहमा साझेदारी र सहकार्य गर्दै आएका नेपाल र जापाबीचको कूटनीतिक सम्बन्ध ६३ वर्ष पुरानो भए पनि छैटौं शताब्दीदेखिको सांस्कृतिक सम्बन्ध तथा बौद्धभिक्षु इकाइ कावागुचीबाट सन् १८९९ मा भएको नेपाल भ्रमणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउन अहम् भूमिका निर्वाह भएको छ । जनस्तरमा हुने भ्रमण आदानप्रदान तथा जापान र नेपालमा रहेका दुवै देशका नागरिकबाट आपसी सम्बन्ध र सम्पर्क विस्तारमा सेतुको काम भएको छ । वर्तमान सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ । खाद्य सहायता कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई हालसालै ३५० मिलियन जापानी येन बराबरको अनुदान उपलब्ध गराएको जापान नेपालको विकासको पुरानो साझेदारमात्र होइन बनेपा–सिन्धुली–बर्दिबास सडक, राजधानीको गोङ्गबुमा नयाँ बसपार्क निर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाजस्ता नेपालको भौतिक पूर्वाधार निर्माणका आफ्ना बृहत् आयोजनामा जापानबाट खुला हृदयले सहयोग भइरहेको छ । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र काठमाडौँ–नागढुङ्गा सुरुङमार्ग निर्मााणका निम्ति जापानले प्राविधिक सहयोगका साथै सहुलियतपूर्ण ऋण उपलव्ध गराउँदै आएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा पनि जापानी सहयोग उल्लेख्य छ । नेपाल–जापान सिधा उडान प्रारम्भ हुने वित्तिकै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अधिकाधिक जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्नेछ । काठमाडौँमा करिब २१ घण्टा रहँदा जापानी पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले नेतृत्व गर्ने १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी रहने छन् । रासस

ललितपुरका सडकमा स्मार्ट लाइट, मान्छे धेरै हुँदा पूर्ण क्षमतामा बल्ने, मान्छे कम हुँदा बिस्तारै निभ्ने

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८ महिनासम्म देखिने गरी काम गर्न नसकेको स्वीकार गरेका छन् । पत्रकारसँगको भेटमा मेयर महर्जनले कानूनी झमेलाको कारण काम गर्न नसकिएको बताए । मेयर महर्जनले भने–अब हामी देखिने गरी काम गर्दैछौं । महानगरको सबै सडकमा स्मार्ट लाईट राख्ने काम प्रमुखताका साथ गर्छौँ–मेयर महर्जनले भने । उनका अनुसार स्मार्ट लाइट नेपालमै पहिलो पटक ललितपुर महानगरले प्रयोग गर्न लागेको हो । महानगरले विद्युत प्राधिकरणसँगको सहकार्यमा सडक लाइट प्रयोग गर्न लागेको हो । लाइट पूर्णरुपमा अटोमेटिक हुनेछ । मानिसहरुको संख्या धेरै भएको बेलामा लाइट पूर्ण क्षमतामा बल्नेछ भने मानिसको संख्या कम भएसँगै बिस्तारै निभ्ने छ । लाइटले रातिको समयमा इबोस्ड नम्बर प्रयोग गरिएको सवारीको समेत रेकर्ड राख्नेछ । लाइट राख्नका लागि महानगरले जनवरी २२ तारिखमा बोलपत्र आव्हान गर्ने भएको छ । ७९ जनालाई महानगरमा रोजगारी महानगरले ७९ जनालाई रोजगारीको दिए भएको छ ।महानगरलाई प्राप्त अधिकार अनुसार २९ जना इन्जिनियर र ५० जनालाई नगर प्रहरीमा रोजगारी दिन लागेको हो । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी र इन्जिनियर लिने महानगरले जनाएको छ ।

सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर

काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी