कामना सेवा विकास बैंकद्वारा कुष्ठ रोगका बिरामीलाई ह्विल चियर प्रदान

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक समाराेहमा अस्पतालका संचालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट डा ब्रुस हयेज, प्रशासकअधिकृत युवराज आचार्य साथै बैंकका संचालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गरेका छन् । हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताए । बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

मिसेज व्यूटिफूल २०१९ को उपाधि सम्पदा अमगाई र स्मृती पोख्रेललाई

काठमाडौं । सम्पदा अमगाई र स्मृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन । त्यसै गरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पार्न सफल भईन । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्गराज गिरी रहेका थिए । आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन समेत गरेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यवसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी र विशेष अतिथी बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष ईन्टरनेशनलका अध्यक्ष टेक राज पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई सम्मान अर्पण गरेका थिए ।

पोखरा रङ्गशालाभित्र ह्याण्डबल एकेडेमी निर्माण सम्पन्न

काठमाडौं । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताएका छन् ।   एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला/पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ । ४०/ २० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ । एकेडेमी उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताए । एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ । ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् । रासस