राज्यकोषको हदैसम्म दुरुपयोग, हत्या आरोपीलाईसमेत राज्यबाट करोडौं क्षतिपूर्ति
धनगढी। थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको आरोपितलाई सरकारले क्षतिपूर्ति रकम बाँढेको छ। राज्यकाेषबाट १ कराेड ७४ लाख पाउने तर फरार अभियुत्त रेशम चाैधरी प्रहरीको फरार सूचिमा रहेका रेशम चौधरीले सरकारले घटनाका पीडित भन्दै १ करोड ७४ लाख क्षतीपूर्ती उपलब्ध गराएको हो। यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय पाएका छन्। मन्त्रिपरिषदले विशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन्। रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए। नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए। चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन्। उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको छ। इलाका प्रशासन कार्यालय टीकापुरमा पीडितलाई बोलाएर शुक्रबार राहात बितरण गरिएको हो। ८८ जना पीडित मध्ये ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए। वाँकी शनिवार बितरण गरिने उनको भनाई छ। ८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । ‘ प्रतिव्यक्ति ७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’ रिजालले भने। थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए। आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो। नागरिक दैनिकबाट ।
पाटन दरबार क्षेत्रका पसल कवलले बर्षाेदेखि भाडा तिरेनन, भाडा मासिक ५ सय मात्रै
ललितपर। पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। गुठी संस्थान पाटन शाखा कार्यालय प्रमुख बैकुण्ठ आचार्यका अनुसार भाडा असुल गर्न संस्थानले पहल नगरेको होइन तर पसलेले नै संस्थानलाई टेर्दैनन्। समाजमा सुन्दा र जान्दा निकै लाजमर्दो अवस्था देखिने यसको जिम्मेवारी कसको हो ? न पसल भाडामा लिएकालाई थाहा छ न त गुठी संस्थानलाई नै। दरबार छेउका यी पसल भाडा तिर्नै नसक्ने बेचल्तीका पसल भने होइनन्। स्थानीयवासी पञ्च वज्राचार्य भन्छन्, कृष्ण मन्दिर छेवैको चटामरी र बारा पसलको सरदर दैनिक आय नै पाँच हजार रुपियाँ छ तर पाटनको एकाध जात्रालाई चन्दा दिएर पसलेले टार्दै आएको छ। कतिपय भाडादरको यो अवस्था र भाडा असुल गर्नै नसकिने यो अवस्थाप्रति खुलेर कुरा गर्न पनि हच्कन्छन्। कतिपय पसलेसँग जुद्धसमशेरकालीन कागजपत्र पनि छन् तिनै कागजको बेअर्थ लगाएर पसलमा मोहियानी हकसमेत दाबी हुने गरेको छ, संस्थानका एक कर्मचारी बताउँछन्। भक्तपुर दरबार क्षेत्रस्थित संस्थानका यस्ता पसलमा भने कुनै समस्या छैन, आर्थिक नियमावली अनुसार टेन्डर प्रक्रियाबाट भक्तपुर दरबार आसपासका पसलबाट संस्थानले नियम अनुसार नै आम्दानी गरिरहेको छ। हनुमानढोका दरबार आसपासका कडेल्चोक भगवती गुठीका पसल कवल पहिले नारायणहिटी दरबारले आफ्नो सम्पत्तिमा कायम गर्यो। दरबारको अस्तित्व गएपछि यहाँको आयलाई पुरातत्व विभागले लिएको छ। विश्व सम्पदा सूचीमा रहेका यी स्थानका अधिकांश पसल संस्थान मातहत छन्। गुठी संस्थानले भाडा दिन नसक्ने पसल खाली गराउन पनि सकेको छैन। संस्थान अधिकारीका अनुसार वर्तमान संस्थान ऐन खारेज भई नयाँ ऐन पारितको तयारीमा छ, ऐन पारितपछि बहाल असुली कारवाहीमा संस्थान कठोर रूपमा प्रस्तुत हुन्छ। गोरखापत्र दैनिकबाट ।
ज्योति विकास बैंकद्धारा जेब्रा क्रसिङ बनाउन सहयोग
काठमाडौं । ज्योति विकास बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ्ग बनाउने कार्यमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडी जेब्रा क्रसिङ्ग बनाउन सहयोेग गरेको छ । यी स्थानहरुमा जेब्रा क्रसिङ्ग नहुँदा पैदल यात्रुहरुले सडक पार गर्न कठिनाई भोग्दै आईरहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता सेवामूखी कार्यहरु गर्दै आएको तथा भविष्यमा पनि निरन्तरता दिइने बताए । बैंकले ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ संग समन्वय गरी उक्त कार्य सम्पन्न गरेको हो ।