घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा, घुसमा तरकारी पनि

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरू भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए । ट्राफिक प्रहरी घुसमा तरकारी पनि लिन्छन् कालिमाटीमा तरकारी तथा रकम असुलेको आरोपमा प्रहरी हवल्दार यादव र प्रहरी जवान चौधरी कारबाहीमा परेका छन् । भाडा ट्रकबाट एक सय रुपैयाँ असुलेको आरोपमा स्वयम्भू वृत्तका प्रहरी जवान कार्की परेका छन् । यस्तै, ड्युटीमा मादक पदार्थ सेवन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी हवल्दार भरतबहादुर चन्द कारबाहीमा परेका छन् । भाडाको ट्रकबाट दुई सय रुपैयाँ असुली गरेको आरोपमा लक्षुमन साह, माइतीघरमा स्कुटर चालकबाट एक हजार असुलेकोमा यादव र कोटेश्वरमा ट्याक्सी चालकसँग पाँच सय रुपैयाँ लिएको आरोपमा गिरी कारबाहीमा परेका हुन् । जमलमा होटेल सञ्चालन गर्ने महिलालाई दुव्र्यवहार गरेकाले राउत कारबाहीमा परे । त्यस्तै, मैतीदेवीमा मोटरसाइकलचालकबाट पाँच सय लिई छाडेको आरोपमा पोखरेललाई कारबाही गरिएको डिआइजी लामाको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।

दशैंमा मेलम्ची भित्र्याउँन प्राविधिक समस्या, समयमै पानी आउनेमा शंका

काठमाडौं । राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला ? अझै पनि प्रश्न उब्जिरहेको छ । यसबीचमा काम पनि निकै भएका छन् । सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं ल्याइने खानेपानीलाई वितरण गर्न बिछ्याइरहेको पाइपलाइनको काम अलिेसम्म ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ करिब ८४ हजार घरधुरीमध्ये ३७ हजार घरधुरीमा धारा जडान गरिसकिएको छ ।

मुग्लिन-नारायणगढ सडकको बिजोग, छिनछिनमै पहिरो खसेरै हैरान

भरतपुर . नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् । पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो । निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो । पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । अन्नपूर्ण पाेस्टबाट ।