११ लाखले पशुपतिनाथ मन्दिर दर्शन गर्ने कोषको अनुमान

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज दिउँसो ५ बजेसम्म ६ लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । चावहिलचोकबाट लाम बसेको छ घण्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको बालाजुबाट आउनुभएका लोकेश थापाले गुनासो गरे । कोषले छ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ । मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भीड देखिन्छ । मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन् । आज रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ । तस्वीरः नबिन पोखरेल/विकासन्यूज

आज नेपालमा हुन्थे भने शिवजीलाई लाग्थे यी ६ मुद्धा

काठमाडौं । यतिबेला पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागिरहेको छ । हिन्दु धर्मावलम्बीहरुका लागि शिव रात्री पर्वको बिशेष महत्व छ । भगवान शिवको आराधना गर्दै आज शिवको प्रसादका रुपमा गाँजा, भाङ, धतुरो सेवन गर्ने चलन छ । पशुपति क्षेत्रमा यी वस्तुहरुको सेवनलाई प्रतिबन्ध लगाईएको छ । तर भक्तजनहरुले सेवन गर्न भने छाडेका छैनन् । गाँजा सेवनलाई कानुनले प्रतिबन्ध लगाएको छ । यदि आजका दिनमा भगवन शिव नेपालमा हुन्थे भने उनलाई गाँजा सेवन गरे वापत मुद्धा लाग्ने थियो । भगवान शिवलाई नेपालमा लागु पदार्थ सेवन तथा ओसारपसार मद्धासहित अन्य ५ वटा कसुरमा मुद्धा लाग्ने देखिन्छ । यी हुन भगवान शिवलाई नेपालमा लाग्न सक्ने आधा दर्जन मुद्धा १) गाँजा सेवन गरेकोमा लागूपदार्थ सेवन तथा ओसारपसार मुद्दा । २) बाघको छाला ओढी हिडेकाले वन्यजन्तु चोरीशिकार मुद्दा । ३) दक्ष प्रजापति र आफ्नै छोरो गणेशको टाउको छिनालेकोमा कर्तव्य ज्यान मुद्दा । ४) विष्णुलाई जग्य(विवाह मण्डपमा) राखी सिन्दुर हाल्नेबेलामा झुक्याएर सतिदेवीलाई फसाएकोमा जालसाजी मुद्दा । ५) ७ वर्षे गोमा ब्राह्णिणीलाई विहे गर्न बाध्य पारेकोमा बालविवाह मुद्दा । ६) यी सब गर्न ब्रह्मा र बिष्णुको मद्दत लिने हुनाले संगठित अपराधको मुद्दा

उपभोक्ता समिति मार्फत रानीपोखरीको पुनर्निर्माण शुरु, ४० जना कालिगढ काममा खटिए

काठमाडौँ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए । उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरे । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन् । समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने बताए । काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए । पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत गर्ने प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।