अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली टोली बंगलादेश प्रस्थान
काठमाडौँ । बंगलादेशमा मार्च १७ र १८ मा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली खेलाडी बुधबार स्थल मार्ग हुँदै त्यस तर्फ प्रस्थान गरेका छन् । टिम चोक, टिम म्यानेजर, निर्णयक र खेलाडी सहित २२ सदस्यीय टोली भारतको कोलकाता हुँदै बंगलादेश गएको हो । करातेका अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको टोलीमा काठमाडौं र १ नम्बर प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईंले सफलताको शुभकामना सहित बिदाई गरेका थिए । १३ जना खेलाडी सहित बंगलादेश प्रस्तान गरेको टोलीको टिम कोचमा ज्ञानबहादुर बलामी रहेका छन् । टिम म्यानेजरमा पूर्ण बलामी र प्रिमेश शिवाकोटी रहेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ, बिनोदकुमार राउत, अशोक पहाडी, बिरेन्द्र कर्ण, जमुना रार्इले सहभागिता जनाएका छन् ।
ग्लोबल आइएमईका ग्राहकलाई दिल्ली र मुम्बईमा स्वास्थ्य उपचार गराउँदा ५० % सम्म छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र भारतको नयाँदिल्ली स्थित बिएलके सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि.द्वारा संचालित) बीच फागुन २९ सेवा सुविधाहरुमा छुट दिने सहमति भएको छ । बैंकले रेडियन्ट लाईफ केयर प्रालिसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्भौता पत्रमा रेडियन्ट लाईफ केयर प्रा लिका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंक लि. का तर्फबाट सहायक महाप्रबन्धक आरतीराज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात भारतको नयाँदिल्लीमा बिएलके सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५०प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले दियो सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले फागुन २७, २८ र २९ गते ३ दिनको सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय चन्द्रपुर, रौतहटमा आबद्ध सदस्यहरु मध्ये ७२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख आदित्यकुमार मिश्रले यस्तो तालिमबाट यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउनेतरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । यसैगरी सो वित्तीय संस्थाले नयाँ रोड, सर्लाहीमा ६० जना तथा सुरुङ्गा, झापामा ६२ जना सदस्यहरुलाई सीपमूलक तालिमहरु प्रदान गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे । तालिम वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन् ।