के तपाई वर्षभरी नपढेर परीक्षाको समयमा मात्र पढ्नु हुन्छ ? पास हुन अपनाउनुस् यी टिप्स

काठमाडौं। दैनिक १२ -१४ घण्टा पढ्नु स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ तर पनि हामी परीक्षाको केही दिन अगाडि सबै कोर्स सिद्दाउनलाई आफुलाई प्रेसर दिँदै लामो समय पढिरहेका हुन्छौं। वर्षभरी आफ्नो पाठ्यक्रमका किताबहरु नपढ्नेहरुको लागि परीक्षा भयानक सपना जस्तो हो। वर्षभरी किताब नपल्टाउने मानिसहरु धेरै हुने गर्छन् र उनीहरु परिक्षाको समय नजिकिँदै गर्दा म्यारथनमा भागे जसरी पढ्न शुरु गर्छन्। यहाँ केही टिप्स तथा सुझावहरू छन् जुन परीक्षाको केही हप्ता अगाडि मात्र आफ्नो किताब खोल्नेहरूलाई उपयुक्त हुनेछ। जसले तपाईंको लामो अध्ययन सत्रहरू सबैभन्दा प्रभावकारी बनाउन सक्छ र तपाईको ध्यान केन्द्रित गर्न मद्दत गर्दछ : १. एक पटकमा ठिक्क मात्रामा मात्र पढ्नुहोस् एकैपटक धेरै मात्रामा पढ्नु भन्दा थोरै थोरै गरेर परीक्षाको लागि तयार गर्नु एकदम प्रभावकारी हुने गर्दछ। यदि तपाईले आफुले पढ्न नभ्याएका पाठहरु हतार हतार गरेर पढ्नु हुन्छ भने तपाईले त्यो थोरै मात्र बुझ्नु हुनेछ जसकारण तपाईलाई परिक्षामा लेख्न समस्या हुने गर्दछ। २. लगातार २ घण्टाभन्दा धेरै नपढ्नुहोस् यदी तपाई लगातार पढ्नुहुन्छ भने २ घण्टा मात्र पढ्नु होस्। २ घण्टाको समयलाई पनि २५-२५ मिनेटमा विभाजन गरी हरेकमा ५ मिनेटको ब्रेक लिनुहोस्। यसरी ब्रेक लिएर पढ्दा तपाईले पढेको कुरा राम्रोसँग सम्झन सक्नु हुनेछ। ३. ‘ब्रेक’ लिएको समयमा परिक्षाको बारेमा नसोच्नु होस् जब तपाई ‘ब्रेक’ मा हुनुहुन्छ, तपाईले आफ्नो दिमाग र मनलाई कुनै पनि परीक्षा सम्बन्धी विचार वा तनावबाट मुक्त राख्नुपर्छ । यदि तपाई ब्रेकको समयमा पनि साथीहरूसँग पढाईको छलफल गर्न वा अध्ययनको योजना गर्नुहुन्छ भने तपाईले आफ्नो दिमागलाई ब्रेक दिनुभएको छैन। यदि तपाईले आफ्नो दिमागलाई ब्रेक दिनु हुँदैन भने तपाईको अध्ययनको अर्को चरण प्रभावकारी हुने छैन। ४. अध्ययन सामाग्रीलाई विभाजन गरेर पढ्नुहोस् पढ्नु पर्ने विषयलाई दुई भागमा विभाजन गर्न सकिन्छ : मुल विषय र विस्तृत बिषय। मुल बिषयमा सिद्दान्त, सूत्रहरू, महत्वपूर्ण रेखाचित्रहरू र ग्राफहरू हुन्छन् भने विस्तृत बिषयमा उदाहरण, कसैको भनाईहरु उल्लेख हुन्छन्। परीक्षामा सोधिएको प्रश्नहरूको लगभग ८० प्रतिशत मुख्य सामाग्रीबाट आउँदछ। यसैले, यदि तपाईं अधूरो पाठ्यक्रम को साथ संघर्ष गर्दै हुनुहुन्छ भने, विभिन्न विषयहरु को मुख्य सामाग्रीमा ध्यान दिनुहोस्। यसबाहेक, पछिल्लो केहि वर्षको सोधिएको प्रश्नहरुको अध्ययन गर्नुहोस् र परीक्षामा धेरै सोधिएका प्रश्नहरुलाई धेरै समय दिनुहोस्। ५. तालिका बनाएर पढ्नुहोस् जहिले पनि कुन बेला के पढ्ने कुन बिषय पढ्ने तालिका बनाउनुहोस्। तालिकामा सबैभन्दा महत्वपूर्ण विषयको लागि धेरै समय छुट्टाउनुहोस् अनि सजिलो बिषयको लागि कम समय छुट्टाउनुहोस्। यसरी तालिका बनाएर पढ्दा तपाईको समयको सही सदुपयोग हुन्छ र तपाईंले पढ्नुपर्ने महत्वपूर्ण विषयलाई पनि पर्याप्त समय मिल्दछ। ६. लेख्ने बानी गर्नुहोस् महत्वपूर्ण अंशहरू हाइलाइट गर्नाले धेरै मद्दत पुर्याउँछ तर जब तपाई कुनै पेपर वा नोटबुकमा पढ्नु भएको महत्वपूर्णकुराहरु लेख्नुहुन्छ भने यसले तपाईलाई बिषयको बारेमा अझ बढि सम्झन मद्दत गर्दछ। ७. स्मरणको लागि तपाईको चार्टहरु भित्तामा टाँस्नुहोस् तपाईंको कोठाको भित्ता वा दराजको ढोकामा मितिहरू, सूत्रहरू, महत्वपूर्ण विषयको बारेमा चार्ट पेपरमा लेखेर टाँस्नुहोस्। आफ्नो आँखाको अगाडी अध्ययन सामाग्री राख्ने हो भने तपाईलाई यसले अझै सजिलै सिक्न मद्दत गर्नेछ। ८. पढेको कुरा २४ घण्टा भित्र दोर्हाएर पढ्ने बानी गर्नुहोस् यदी तपाई परिक्षाको अगाडी नपढिएका बिषय पढ्दै हुनुहुन्छ २४ घण्टामा दोर्हाएर पढ्नुहोस्। विज्ञान भन्छ, यदी तपाईले पढेको कुरा २४ घण्टा भित्र एकपटक दोर्हाएर पढ्नु हुँदैन भने तपाईले पढ्नुभएकाे ८० प्रतिशत बेकार भएर जान्छ। ९. पढेको कुरा सम्झनलाई राम्रोसँग सुत्नुहोस् धेरै विद्यार्थीहरु पढेको कुरा सम्झनलाई रातभर बसेर दोर्हाएर पढ्ने गर्छन् तर यो एकदमै गलत तरिका हो। पर्याप्त निन्द्रा यस्तो चिज हो जसले तपाईको छोटो समयको सम्झनालाई लामो समयमा परिवर्तन गर्न मद्त गर्दछ। त्यसैले आफुले पढेको कुरा ताजा राख्नलाई ७-८ घण्टा सुत्नुहोस्।

बाराको कोल्हवीमा आशा लघुवित्तले दियो सीपमूलक तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७५ फागुन ३०, चैत्र १ र २ गते ३ दिनको सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कोल्हवी, बारामा आबद्ध सदस्यहरु मध्ये६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सञ्जीत चौधरीले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २०० विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

आईईएलटिएस परीक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै, लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य

काठमाडौँ । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परीक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रालिका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर भयो । कार्यक्रममा बोल्दै आईडीपी आईईएलटिएसका नेपाल प्रमुख कविर खड्गीले यस व्यवस्थाले आईईएलटिएस परीक्षार्थीहरुलाई शुल्क भुक्तान गर्न बैङ्क गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन प्रक्रियामा सहजता ल्याउनेछ भन्ने विश्वास प्रकट गरे । १९ हजार ५०० रुपैयाँ परीक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिन्छ ।