लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान सुरू
काठमाडौँ ।गुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ बिहीबारदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग पुर्याउनाे विश्वास व्यक्त गरेका छन् । “पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो”, उनले भने, “ हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पुर्याउँछ । यसैक्रममा,गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । उक्त अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा/अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ । हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । रासस
कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट !
काठमाडौं । कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट हुने संघारमा पुगेको छ । कोलम्बीयासँग पराजित भएको अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । सुरुमै एक गोलले पछि परेको अर्जेन्टिनाले मेस्सीको पेनाल्टीबाट बराबरी खेलेको हो । ३७ औं मिनेटमा गोल खान पुगेको अर्जेन्टिनालाई ५७ औं मिनेटमा पाएको पेनाल्टीले हारबाट जोगाएको हो । हारबाट जोगिए पनि अर्जेन्टिनाको कोपा अमेरिका कपको यात्रा भने कठिन बनेको छ । ग्रुप बीमा रहेको अर्जेन्टिनाको १ अंक रहेको छ भने पहिलो स्थानमा रहेको कोलम्बीयाको ६ अंक छ । दोश्रो स्थानमा रहेको पाराग्वेको २ अंक छ । अब अर्जेन्टिनाले कतारमाथी स्पष्ट जित निकाले मात्रै अघिल्लो चरण प्रवेशको सम्भवना रहनेछ ।
आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने, प्रवेश निशुल्क
काठमाडौं । आर्ट अफ लिभिङ पोखराले शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाइने हुदाँ सोही दिन पारेर पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताएका छन् । संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म केदारेश्वर मन्दिर परिसर मैदानमा हुनेछ । योग शिविरलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न उप–समितिहरु गठन समेत गरी तयारीलाई तिव्र पारिएको छ । आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुने सबैलाई प्रवेश निशुल्क गरिएको जनाइएको छ । शुक्रबार हुने उक्त योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबारबाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचार प्रसार गर्दै शिविरमा सहभागीतालाई आग्रह गरेको छ । हालसम्म विश्वभर १५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रबिशंकर हुन् । पोखरामा मात्र करिब १८००० जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् । हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने यूवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले बताएका छन् ।