नुवाकाेटका आर.बि.लामा गायनमा सक्रिय, पछिल्लाे समय ‘सीमसीम लाबा’ भिडियो सार्वजनिक

काठमाडौं । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएका आर.बि.लामाको ‘सीमसीम लाबा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा स्वर आर.बि.लामा र मिना लामाको स्वरमा रहेको सो गीतको शब्द/संगीत, राजु खडकाको रहेको छ । गायक लामा पछिल्लो समय आफ्नो भाषा तथा सांस्कृतिको जगेर्ना गर्दै गीत संगीतको क्षेत्रमा आफुलाई स्थापित गर्न लागि परेका छन् । सन्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङ्गको अभिनय रहेको छ । तामाङ्ग भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ्ग भाषाका गीतमात्र सार्वजनिक गरेका हुन् । गीतहरुबाट सोचे भन्दा बढीनै सकारात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उनले बताए। सार्वजनिक भएका गीतमा सीमसीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्ग भाषीहरुका बीच अत्यधिक लोकप्रिय छन् । सर्वप्रथम रिलिज भएको गीत सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको र युवा अवस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भावहरुका विचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको छ भन्ने  बुझाइ रहेको छ। भिडियो हेर्न क्लिक गर्नुहोस् ।

डेंगुको प्रकोप बढ्दै छ, यसबाट बच्न वातावरणीय सरसफाईमा ध्यान दिन जरुरी: डा. अनुप बास्तोला

काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगु पोजिटिभ देखिएको बिरामीको संख्या दिनप्रति बढ्दो छ र यसको जाँचको लागि स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालको बिशेषज्ञ टोली उक्त स्थान प्रस्थान गरिसकेको छ। सरकारले यस बर्ष सरुवा रोग नियन्त्रणको लागि कुल ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि मात्र १ करोड ६६ लाख छुट्टाएको छ। जनमानसमा चेतनाको कमी भएको कारण यो रोगले अहिले आएर माहमारीको रुप लिईसकेको छ यधापी कसैको मृत्‍यु भने भएको छैन तर हुँदैन भन्न पनि सकिन्न। काठमाडौंमा डेंगु देखिने सम्भावना  शुक्रराज ट्रपिकल अस्पतालका डा. अनुप बास्तोलाको अनुसार काठमाडौं पनि डेंगु देखिने सम्भावना बढी भएको बताउँछन्। काठमाडौंमा  एजिप्टाई जातको पोथी लामखुट्टे भएको र यसले बिशेष गरेर बर्षायाममा फुल पार्ने र त्यो फुल बनिसकेपछी संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने सम्भावना भएको बताउँछन्।  यधापी अहिलेकोबर्ष भने डेंगुका त्यस्तो बिरामो नआएको उनको दाबी छ। उनी भन्छन्,’हामीसँग भेक्टर छ र भेक्टरको गतिविधीले अहिल्को मौसममा डेंगु लाग्ने सम्भावना कति छ भन्ने कुरा बताउँछ र अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन। तापक्रमको हिसाबले हेर्ने हो भने काठमाडौंको हालको तापक्रम २८ देखी ३२ डिग्री सेल्सियस भित्र रहेको छ। यो तापक्रम एक लाम्खुट्टेको लागि एकदमै राम्रो व्रिद्दिबिकास हुने अवस्था हो।’ ‘यधापी अहिले सम्मको लागि काठमाडौंमा भने डेंगुको माहामारी हुने अवस्था भने छैन तर भबिस्यामा नहोला भन्न सकिन्न।’ डेंगुको यस बर्ष र पछील्लो बर्षको अवस्था ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको असार २ गतेको डाटाको अनुसार ६०४ जना डेंगुको बिरामी धरान, सुनसरी, मोरङ र ईटहरीमा पाईएको थियो जसमा धरानको बिपी कोइराला मेमोरियल अस्पतालबाट ५०५ जना मानिसमा डेंगु पोजिटिभ देखिएको थियो। त्यसमा पनि डेंगु लागेका मुख्य मानिसहरु धरान उपमहानगरपालिकाको वडा नं ८ र १५ का रहेका छन्। पछिल्लो बर्ष धरानमा ८ जना डेंगुका बिरामी देखिएका थिए। महाशाखाको अनुसार २०७५ सालमा काठमाडौंको ठुलोभर्याङबाट १६ जना डेंगुका बिरामी भेट्टाईएको थियो। २०७४ मा भने यो १ जना मानिसमा मात्र देखिएको थियो। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन्? लामखुट्टेहरु बिशेष गरेर दिउँसोको समयमा सकृया हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृया हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ति संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। । साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने – शरीरमा विमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने ( सरुवा रोग बिशेषज्ञ  अनुप बास्तोलासँगको कुराकानीमा आधारित )

‘गौतमबुद्ध’ रङ्गशालालाई प्रदेश सरकार र स्थानीय तह रकम छुट्याउँदै

काठमाडौं । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिएका छन् । मंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि रु पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ । महानगरभित्र रहेका २९ वटा वडाले रु पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताएका छन् । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले जानकारी दिए । गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उनीहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ । फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । उक्त रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ । रासस