कुष्ठरोग निवारण संघलाई सिद्धार्थ बैंकको ८० हजार सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्ने जनाएको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई,प्रथम विजेताले पाए रु चार लाख

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । बुधबार बिहान बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । त्यसैगरी, बहत्तर रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो । उक्त प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए । वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । रासस

शुरु भो मनसुन, कालीगण्डकीमा बन्द भो र्‍याफ्टिङ

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढेपछि र्याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिए । “अघिल्लो वर्ष जुन ५ सम्म र्‍याफ्टिङ गर्न सकेका थियौँ”, उनले भने, “यस वर्ष जुन १५ सम्ममात्रै सञ्चालन भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउने उनले बताए । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई-तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुङ्गादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । रासस