सिटिजन्स बैंकले रोप्यो १०० बिरुवा, सिइओ पोखरेलपनि सहभागी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर-कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट,को को भए ?
काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आइतबार १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । त्यसैगरी, वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ । यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ । रासस
म्याग्दीका ३३ वटा वडामा हेलिप्याड निर्माण, विकट र दुर्गम क्षेत्रका बस्तीले पाए सुबिधा
काठमाडौं । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । भौगोलिक रुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो । आठ महिनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताएका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमिन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताए । नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।“म्याग्दीका सबै वडामा आगामी तीन वर्षभित्रमा हेलिप्याड बनाइसक्ने योजना बनाएका थियौँ तर आठ महिनामा नै ३३ वटा बनिसकेका छन् । अब दशैंसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिनेछ”, उनले भने । बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुङ्गेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नसक्ने नाइटभिजन हेलिप्याड निर्माण भएको छ । पुतलाचौरको धार्मिकस्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मङ्गला गाउँपालिकाको हिदी, कुहुँ र बरङ्जामा हेलिप्याड निर्माण भएको छ । मङ्गलाको दुई वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगङ्गाको पिप्ले र दग्नाम बाहेकका सबै वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै अस्पताल पुर्याउन सहज हुने प्रजिअ अधिकारीले बताएका छन् । हेलिप्याड निर्माणले धवलागिरि, अन्नपूर्ण, गुर्जा, पुथालगायत म्याग्दीमा हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुविधा पुग्ने जनाइएको छ । हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगलागीका साथै दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत तत्कालै अस्पताल पुर्याउन सकिने अपेक्षा गरिएको छ । यसरी, सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमङ्गले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् । रासस