तनहुुँका ८० ज्येष्ठ नागरिकले पाए बुढेसकालको साथी ’लौरी’

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ । वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिएका छन् । उनका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त लौरी पोखराबाट प्रतिथान रु एक हजार २०० मा खरिद गरिएको हो । उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरुप गत वर्ष चरेसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो । लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँड्डुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उनले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताएका छन् । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महिनापछि भाँच्चिने र अर्को लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ । लायन्सद्वारा ह्वीलचियर प्रदान लायन्स क्लब इन्टरनेशनलले म्याग्दे गाउँपालिका–१ गुणादीका बलबहादुर थापालाई ह्वीलचियर प्रदान गरेको छ । सामान्य हिँड्डुल गर्न पनि नसक्ने थापालाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘बी १’ का सन् २०१८/१९ का गभर्नर अशोककुमार श्रेष्ठले ह्वीलचियर प्रदान गरेको हो । जन्मैदेखि अपाङ्गता रहनुभएका थापा शुरुमा सामान्य हिँड्नसक्ने भए पनि विगत ४/५ वर्षदेखि भने हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका छन् । रासस

नेशनल माइक्रोफाइनान्सद्वारा छैठौँ वर्ष प्रवेशको अवसरमा फलफूल वितरण

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड छैठौँ बर्ष प्रबेश गरेकोमा शाखा कार्यालय सुडा कञ्चनपुरले बेदकोट व ७ रौटेला स्थित बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिई बसेका २३ जना महिला/पुरुषलाई फलफुल तथा खानेकुराहरु वितरण गरेको छ । सो अवसरमा शाखा प्रमुख उन्नती बांस्तोलाले संस्थाले वित्तीय कारोवारमात्र नभई विभिन्न किसिमका सामाजिक कार्यक्रम पनि संचालन गर्दै आएको जानकारी गराए ।

चिलीलाई हराउँदै पेरु पुग्यो कोपा अमेरिका कपको फाइनलमा, ब्राजिलसँग भिड्ने

काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ । पेरुलाई फाइनलमा पुर्याउन इडिसन फ्लोरेसले २१, योसिमर युटिनले ३८ र पाओलो गुरेरोले ९१ मिनेटमा गोल गरेका थिए ।