कलाकार सुदर्शनलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ भारतबाट सम्मान गरिने
काठमाडौं । तीन दशकदेखि सङ्गीत साधनामा लागेका वरिष्ठ कलाकार सुदर्शन राजोपाध्यायलाई सम्मान गरिने भएको छ । भारतको प्रसिद्ध एनआरवी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मान गर्न लागेको हो । वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिएका छन् । यही असार २९ गते भारतको राजस्थानमा आयोजना हुने कार्यक्रममा उनलाई सम्मान गरिनेछ । उक्त कार्यक्रममा नेपालसहित भारत, माल्दिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछन् । अन्तरराष्ट्रिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोदवादन कार्यक्रम पनि प्रस्तुत हुनेछ । सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारबाट समेत सम्मानित राजोपाध्यायले सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेका छन् । नेपाल र भारत गरेर दर्जनौँ सरोदवादनका कार्यक्रम गरेका उनले सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा समेत प्रथम भएका थिए । यसरी, नेपालमा ‘शास्त्र सम्मान २०१८’, ‘सेभ दी नेशन अवार्ड’ लगायत थुप्रै पुरस्कारबाट सम्मानित उनका नेपाली र नेवारी गरेर चर्चित ‘पलपल’, ‘पानीसरी’, ‘त्यो रात’, ‘नसला’, ‘हसना’, ‘छन्हु’, ‘निन्हु’, ‘छगू’ ‘मतिना’ लगायतका क्यासेट तथा सिडी बजारमा पाइन्छन् । जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय सङ्गीततर्फ ‘वन डे रागाज’, ‘सोलफूल म्युजिक फर मेडिटेसन’, भारतबाटै ‘सुरिल म्यूजिक इन २०१५’ प्रकाशित छन् । रासस
बूढानीलकण्ठमा पहिलोपटक प्रथम मेयर कप फुटसल हुँदै
साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोवल उच्च राख्न उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सन्देश कार्कीले बताउँछन् । कार्कीका अुनसार प्रतियोगिताको असार २५ गते फारम भर्ने अन्तिम म्याद भएकाले खेलमा भाग लिन ईच्छुक समूहले आफ्नो वडामा गई आवेदन फारम भर्नुपर्ने जानकारी समेत दिए । वडा/वडाबीच प्रतियोगिता हुने उक्त खेलमा नगरपालिकाभित्रकै स्थानीय खेलाडी हुनुपर्ने क्लबले जनाएको छ । स्थानीयस्तरमा फुटसल खेल अहिले निकै लोकप्रिय हुँदै गइरहेको छ । रासस
‘नन्द–हरि पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुँदै दुई पत्रकार
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उनको परिवारले आमा हरिकला र बुबा नन्दलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना गरेको पुरस्कार वर्षेनी प्रदान गर्दै आएका थिए । पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । यही असार २५ गते पत्रकार महासङ्घ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले बताएका हुन् । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका धु्रवसागर शर्मा, बागलुङका ज्ञानेन्द्र गौतम, कोपिला कँडेललगायत पुरस्कृत भइसकेका छन् । रासस