उपाधिका लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य

काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो । वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा रु तीन लाख मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको जानकारी दिएका छन् । “चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएकोे अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ । पक्राउ परेकालाई सोमबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईँले बताएका छन् । रासस

२१ औं शताब्दीले पचाउन नसकेको कला: ‘मैनदानी’

काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’ बाट प्रभावित भएर लेखिएको हो। १ घण्टा १० मिनेटको संयोग गुरागाईंको निर्देशन र परिकल्पनामा बनेको नाटकको पुरा कथा एउटा मैनदानीमा कोरिएको स्त्रीपुरुषको अन्तरंग दृश्यलाई लिएर त्यसैको वरीपरी केन्द्रित भएर घुमेको छ। कला-कलाकारलाई समाजले हेर्ने दृष्‍टिकोण र खोक्रो पत्रकारिताको गर्दै हिँडेका पत्रकारलाई लिएर ब्याङ्ग्य हान्दै बुनिएको कथा हो मैनदानी। एउटा गरीब परिवारका केशव आफ्नो बिरामी आमालाई उपचारमा खर्चमा सहयोग गरेका डाक्टरलाई रातो कपडामा बेरेर उपहारमा एउटा मैनदानी दिन्छन्। भर्खरै भर्खरै डाक्टरले आफ्नो छवीलाई राम्रो बनाउन प्रयास गरिरहेको अवस्थामा उपहारमा यौन लीलामा मग्न स्त्रीपुरुषको खोपिएको चित्र देखेर उनी अत्तिन्छन्। उनी आफुलाई समाजको नजरबाट हेर्न थाल्दछन् र आँफै लज्जित महसुस गरेर उपहारमा पाएको मैन्दानी आफ्ना वकिल साथीलाई दिन जान्छन्। वकिल साथीको सुरुमा कहिले उपहार नदिएको साथीले उपहार दिदा छक्क पर्छन् र मख्ख हुँदै उपहार स्विकार गर्छन्। तर जब खुशीले उनी उपहार खोल्छन् उनी अक्कनबक्क हुन्छन् उसले पनि आफुलाई समाजको नजरबाट हेर्छ र र उपहार राख्न अस्विकार गर्छन्। तर डाक्टर साथीको अनेक ढिपीको कारण उनी मैनदानी राख्न वाध्य हुन्छन्। त्यसपछी स्टेजमा वकिललाई भेट्न र्य्पार जोजो आईपुग्छन्। समाजले अस्विकार गर्ने डरले जोजोलाई वकिलले उक्त मैनदानी दिन्छन्। नाटकमा फरक सोच राख्ने एक मात्र पात्र जोजो खुशी हुँदै मैनदानी लिएर आफ्नो फ्लाट जान्छन्। उनी मुर्तीमा कला देख्छन् तर भर्खरै कन्ट्रोभर्सीबाट बाहिरिएका उनी आफुलाई फेरी त्यही विवादमा नपार्न र समाजको तिखो नजरबाट बच्नलाई अन्त्यमा त्यसलाई अस्विकार गर्छन् र अन्त्यमा सबैले अस्विकार गरेको मैनदानी गएर डाक्टरकै हातमा पर्न जान्छ। यौनबारे हाम्रो समाज कहिले पनि खुलस्त हुनसकेको छैन। यस बिषयमा कोही खुलस्त हुन्छ भने उसलाई छाडा व्यक्तीको ट्याग दिईन्छ। मैनदानीले उठाएको छोटो सोचले ग्रस्त समाज र खोक्रो पत्रकारीता समयसामायिक बिषय हो। हामी बसिरहेको समाज नामको २१ औ शताब्दीमा छ तर व्यवहारमा शायद १८ औं शताब्धी भन्दा कम छैन। समाजमा अझै पनि मानिसहरु यौनलाई लिएर निकै नै नकरात्मक देखिन्छन् तर केवल पर्दा बाहिर। पर्दा भित्र समाजलाई जे गरे नि चल्छ तर पर्दा बाहिर समाज हामीलाई यौनको बिषयको मुख नखोल्न आग्रह गर्छ। उनिहरु यौनको बिषयमा कुरा नगर्नेलाई सभ्य व्यक्तीको ट्याग दिन्छन्। यसकारण पनि धेरै व्यक्तीहरु यस बिषयमा मुख खोल्न लाज मान्छन्, उनीहरुको मनमा सधैं एउटै डर हुन्छ – समाज। लाईक र भ्युजको लागि एुउटा क्यामारा लिएर कलाकारको पछाडी दौडिने र साना साना बिषयलाई लिएर ठुलो विवाद खडा गर्ने पत्रकारहरुलाई नाटकले व्याङग हानेको छ। कलाकारको उतार चढाव आफ्नो हातमा भएको भन्ने सोच भएका केही पत्रकार उनको मेहनतलाई भने चानचुने सम्झने गरेका छन्। कथाले समाजमा भएको कला र अश्लिलता बीचको द्वन्द्व नाटकमा उतारेको छ। नाटकले तपाईलाई १ घण्टा १० मिनेट हँसाइ हँसाई एकपटक हाम्रो सोचलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटकको सबैभन्दा सबल पक्ष भनेको कलाकारको भावलाई प्रस्टाउन प्रयोग गरिएको लाईट रहेको छ। यस्तै स्टेजमा हरेक पटक स्थान बद्लिएको अवस्थामा प्रयोग भएका सबै सामानहरुलाई रंगाउन प्रयोग गरिएको कालो र सेतो रंगको संयोजन पनि राम्रैसँग भएको छ। यसले समाजमा साकरात्मक र नकरात्मक दुवै सोच भएका मानिसहरु रहेको भन्ने बुझ्न सकिन्छ। साथै नाटकमा रातो कपडामा बेरिएको मैनदानी, रातो कुर्सी, रातो रंगको लाइटले जोजोको क्रान्तिकारी भाव झल्काउँछ। जोजोले मैनदानी फिर्ता गरेसँगै सबै राता रंगहरु पनि हराएर जान्छन्। यो उनको क्रान्ति भाव प्रति समाजले लगाएको बन्देज हो भन्ने बुझ्न सकिन्छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, विकास पन्त,अंकित खड्का, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय हेर्न सकिन्छ। साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।