काठमाडौं महानगर र चीनको नानचिङ शहरबीच भगेनी सम्बन्ध, ‘धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा’

काठमाडौं । चीनको नानचिङ सहर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । नानचिङको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई नगरका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका हुन् । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र नानचिङ नगर कंग्रेसका स्थायी समिति अध्यक्ष लोङ स्याङले हस्ताक्षर गरेका छन् । समारोहमा बोल्दै उपमेयर खड्गीले नानचिङ र काठमाडौंका जनताबीचको सम्बन्ध सुमधुर बनाउँदै दुई सहरबीच कला, संस्कृति, पर्यटन, शिक्षा तथा प्रविधिको आदान–प्रदानमा सहकार्य हुने विश्वास व्यक्त गरिन् । अध्यक्ष लोङ स्याङले नानचिङ सहर घुम्न नेपालीलाई निमन्त्रणा गरे । नेपाली पर्यटकलाई नानचिङमा स्वागत गर्न आफू आतुर रहेको बताउँदै अध्यक्ष स्याङले भने, ‘नानचिङ नगरको जनसरकार र ८४ लाख नानचिङवासीको तर्फबाट नेपाली मित्रहरूलाई भ्रमणका लागि स्वागत गर्न चाहन्छु र दुई नगरबीचको मित्रता निरन्तर कायम रहोस् भन्ने कामना गर्छु ।’ नेपाल बेल्ट एण्ड रोड अवधारणाको महत्वपूर्ण क्षेत्र रहेको अवस्थामा काठमाडौंसँग अर्थ, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमाबलियो सहकार्य गर्न इच्छुक रहेको पनि अध्यक्ष लोङ स्याङले बताए । नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या वर्षेनि बढिरहेको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा नानचिङबाट धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा व्यक्त गरे ।

जलेश्वर कारागार डुबानमा, ब्यारेकसहित ४६३ कैदीबन्दी अस्तव्यस्त

काठमाडौं शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करिब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए । मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताएका छन् । उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ । जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् । त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ । वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो गरे । रासस

मालपोतमा जग्गा रोक्का गरेपछि उद्योगीले बुझाए जरिवानासहित विद्युत् महसुल

काठमाडौं । लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताए । यसरी मालपोतमा पहिलोपल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सूचना गरेपछि उक्त रकम बुझाएको बताइएको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले पनि लामोे समयसम्म बक्यौता रहेको रु १४ लाख ५० हजार विद्युत् महसुुुल बुझाएको बुझिएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने, अटेर गर्ने तथा विद्युत् चोरी गर्ने ७१८ जनाको विद्युत् लाइन कट्टा गरी जरिवानासमेत गरिएको छ । विद्युत् कट्टा गरिएकोमध्ये ७०० ले जरिवानासहित महसुल बुझाएका छन् । उक्त रकम रु तीन करोडभन्दा बढी रहेको छ । साथै कार्यालयले विद्युत् चुहावट रोक्न अनुगमनकार्य तीव्र पारेको छ । कार्यालयले विद्युत् महसुल इ–बिलिङमार्फत शुरु गरेको प्रमुख यादवले बताएका छन् । मासिक रु १७ करोडभन्दा बढी विद्युत् महसुल उठाउँदै आएको केन्द्रको ग्राहक सङ्ख्या ५० हजार हारहारीमा रहेको छ । हाल केन्द्रमा निवेदन दिएलगत्तै विद्युत मिटर जडान हुने गरेको छ । त्यस्तै कार्यालयले नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत विपन्न, गरिब तथा सुकुम्वासीलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरेको छ । रासस