विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ ले इतिहासमै सबैभन्दा धेरै गोल भएको विश्वकपको नयाँ कीर्तिमान कायम गरेको छ । अझ रोचक कुरा के छ भने नकआउट चरण सुरु हुनुअघि नै यस संस्करणले कतारमा सन् २०२२ मा बनेको १७२ गोलको विश्वकप कीर्तिमानलाई उछिनेको हो । अमेरिका र टर्कीबीचको समूह ‘डी’ को खेलमा अमेरिकाका डिफेन्डर अस्टन ट्रष्टीले गरेको गोल यस विश्वकपको १७३औँ गोल बनेको थियो । त्यससँगै कतार विश्वकपभरि ६४ खेलमा भएको १७२ गोलको कीर्तिमान तोडियो । अझ यो उपलब्धि २०२६ संस्करणमा ५९औं खेलमै सम्भव भएको हो ।  हालसम्म जारी प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । मेसीले समूह चरणका सुरुआती दुई खेलमै पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन् ।  अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल थपेका थिए । त्यही प्रदर्शनसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।  जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई उछिन्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन् । त्यसैगरी, जारी विश्वकपमा ४ गोल गर्ने ४ खेलाडी रहेका छन् । फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए ।  उनको कुल ४ गोल भएको छ । उनी फ्रान्सकै केलियन एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिएका हुन् ।  यसपटक गोलको वर्षा हुनुका पछाडि धेरै कारण देखिएका छन् । पहिलो, विश्वकपको इतिहासमै पहिलो पटक ३२ बाट ४८ टोली सहभागी भएका छन् ।  टोली संख्या बढेसँगै खेलको संख्या पनि ६४ बाट १०४ पुगेको छ । त्यसका साथै तुलनात्मक रूपमा कमजोर मानिएका केही नयाँ टोलीहरूको सहभागिताले पनि केही एकपक्षीय खेलहरू देखिएका छन्, जसले गोल संख्या बढाउन सहयोग गरेको विश्लेषण छ । यद्यपि गोलको संख्या बढ्नुको कारण खेल संख्यामात्र होइन भन्ने तथ्यले पनि धेरैको ध्यान खिचेको छ । कतार विश्वकपको सम्पूर्ण प्रतियोगिताभरि भएको गोल संख्या यस संस्करणले समूह चरणकै क्रममा उछिनेको छ । अर्थात् अझ धेरै खेल बाँकी रहँदा नै नयाँ कीर्तिमान बनेको हो ।  २०२६ संस्करणलाई अघिल्ला विश्वकपभन्दा पृथक बनाउने अर्को ठूलो पक्ष यसको नयाँ ढाँचा हो । पहिलो पटक तीन देश—अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन् । यसअघि कुनै पनि विश्वकपमा तीन आयोजक राष्ट्र थिएनन् ।  त्यसैगरी, सहभागी टोली संख्या ४८ पुगेपछि १२ समूह बनाइएका छन्, जहाँ प्रत्येक समूहमा चार टोली छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ । यसका कारण विश्वकपको इतिहासमै पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ । नयाँ ढाँचाले विश्व फुटबलमा नयाँ राष्ट्रहरूको उपस्थिति पनि बढाएको छ । धेरै टोलीले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन् भने केही साना राष्ट्रहरूले बलिया टोलीलाई चुनौती दिएर प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन् । यसले विश्वकपको प्रतिस्पर्धात्मक दायरा अझ फराकिलो भएको विश्लेषकहरु बताउँछन् । गोलको वर्षासँगै दर्शक उपस्थिति पनि उल्लेखनीय बनेको छ । फिफाका अनुसार यस संस्करणले दर्शक उपस्थितिको हिसाबले पनि नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । विशाल रंगशाला, तीन देशमा फैलिएको आयोजना र फुटबलप्रतिको उत्साहका कारण प्रतियोगिताले विश्वव्यापी आकर्षण अझ बढाएको हो । प्रतियोगिता नकआउट चरणतर्फ अघि बढ्दै जाँदा गोल संख्या अझ तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । यदि यही लय कायम रह्यो भने विश्वकप इतिहासमै पहिलो पटक २०० भन्दा धेरै गोल हुने अनुमान छ।

फ्रान्सको शानदार जित, डेम्बेलेको ह्याट्रिक

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई पराजित गरेको छ । फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गरेको हो । यससँगै फ्रान्सले समूह विजेताका रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । फ्रान्सका स्टार उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । ठूलो अन्तर्राष्ट्रिय खेलमा उनको यो पहिलो ह्याट्रिक हो ।  जारी विश्वकपमा उनले ४ गोल गरिसकेका छन् । जारी विश्वकपमा लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन्। पहिलो हाफमै फ्रान्सले ३-१ को अग्रता बनाउन सफल भएको थियो । नर्वेका लागि थिलो आसगार्डाले एक गोल फर्काए । खेलको अन्तिम समयमा फ्रान्सका डिजायर डउले चौंथो गोल गरेका थिए । फ्रान्सविरुद्धको खेलमा अर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहित १० खेलाडी थिएनन् । उनीहरुको साटो अर्कैलाई खेलाइएको थियो । सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको फ्रान्सले दबदबा कायम गर्यो।  डेम्बेलेले खेलको ३२औं मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियाका लागि चेकोस्लाभिया विरुद्ध २४औं मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।  त्यसैगरी, सेनेगलले इराकलाई ५-० ले पराजित गर्दै नकआउट पुग्ने सम्भावनालाई कायम राखेको छ ।

दुर्व्यसनका विरुद्धमा  (कविता )

लागेर कुलतमा  भागेर आफैदेखि कहाँ पुग्छौं र ? युवा ! हुँदैन कुनै समस्या समाधान  गरेर लागूपदार्थ सेवन  भो नगर दोमन । क्षणिक लतमा फसेर,  बसेर साथी भनिएका, बनिएकाहरुसँग जीवन बर्बाद नगर।। तनाव भुल्ने, बहानामा  झुल्न हुँदैन नशामा सिर्जनाका अनेक आयाम छन् मन लगाऊ त्यसैमा र सजाऊ जिन्दगीको रङ्गमञ्च आउने छैन पुनः यो गुलाबी उमेर मात्र छुटाउने छ यसले असल मित्रता, आफन्त  बाआमाका सुन्दर सपना तिम्रो आफ्नै लक्ष्य हराउने छ कुहिरोको काग बन्नेछौ त्यति बेला एक्लै हुनुको पश्चातापले तड्पिदै रुनुको अर्थ रहँदैन ।। कमजोर तन,मन लिएर कहाँ सकिन्छ ? दूर सफर गर्न जिन्दगीको । गाह्रो पर्नेछ दुनियाँको छिछिदुर्दुर सहन न अर्थ रहन्छ  न कोही सहन्छ ?  समय नदीजस्तै बहन्छ ।। भो, छाडिदेऊ कुलत नभाग समस्यासँग डराएर  आऊ एक भएर लागौँ सिर्जनामा  यो धर्ती सिँगार्नु तिम्रो पनि कर्तव्य होइन र ?।। क्राेध,ईर्ष्या र द्वेषले   सक्छ आफैलाई  नलगाऊ त्यता मन नफाल व्यर्थ धन जोगाएर पन, फुलाऊ जीवन ।। कहाँ छ हार ? कि जितिन्छ कि सिकिन्छ भो यसै खेर जान नदेऊ सार्थक पार्ने प्रण गर  जिन्दगी।। कमजोर, खत्तम भन्नेहरुलाई गरेर देखाइदेऊ उद्यम अल्झेर वादविवादमा खेर नफाल समय यो सिर्जनाको याम हो ।। आवाज बुलन्द पारौं, बाचौं र बचाऊँ विरुद्धमा लागौं लागूपदार्थ दुर्व्यसनको ।। -गोपाल खनाल  दाङसिङ,नुवाकोट