काठमाडौं । भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका- ९ भातेढिकुर चोकस्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको ।
शुक्रबार साँझ करिब ७: ४५ बजे उदयपुरको कटारी नगरपालिका- ५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । भक्तपुर प्रहरीका अनुसार घरायसी विवाद भई छोराद्वारा आमाको कुटपिट भएको थियो । छोराले मापसे सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
'चौधरीको परिवार सामान्य रुपमा बाहिर-बाहिर काम गरेर गुजारा गरिरहेको थियो,’ भक्तपुर प्रहरी परिसरका एक प्रहरी अधिकृतले विकासन्युजसँग भने ।