काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई पराजित गरेको छ । फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गरेको हो ।
यससँगै फ्रान्सले समूह विजेताका रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।
फ्रान्सका स्टार उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । ठूलो अन्तर्राष्ट्रिय खेलमा उनको यो पहिलो ह्याट्रिक हो ।
जारी विश्वकपमा उनले ४ गोल गरिसकेका छन् । जारी विश्वकपमा लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन्।
पहिलो हाफमै फ्रान्सले ३-१ को अग्रता बनाउन सफल भएको थियो । नर्वेका लागि थिलो आसगार्डाले एक गोल फर्काए । खेलको अन्तिम समयमा फ्रान्सका डिजायर डउले चौंथो गोल गरेका थिए ।
फ्रान्सविरुद्धको खेलमा अर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहित १० खेलाडी थिएनन् । उनीहरुको साटो अर्कैलाई खेलाइएको थियो ।
सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको फ्रान्सले दबदबा कायम गर्यो।
डेम्बेलेले खेलको ३२औं मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियाका लागि चेकोस्लाभिया विरुद्ध २४औं मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
त्यसैगरी, सेनेगलले इराकलाई ५-० ले पराजित गर्दै नकआउट पुग्ने सम्भावनालाई कायम राखेको छ ।