काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप २०२६ ले इतिहासमै सबैभन्दा धेरै गोल भएको विश्वकपको नयाँ कीर्तिमान कायम गरेको छ । अझ रोचक कुरा के छ भने नकआउट चरण सुरु हुनुअघि नै यस संस्करणले कतारमा सन् २०२२ मा बनेको १७२ गोलको विश्वकप कीर्तिमानलाई उछिनेको हो ।
अमेरिका र टर्कीबीचको समूह ‘डी’ को खेलमा अमेरिकाका डिफेन्डर अस्टन ट्रष्टीले गरेको गोल यस विश्वकपको १७३औँ गोल बनेको थियो । त्यससँगै कतार विश्वकपभरि ६४ खेलमा भएको १७२ गोलको कीर्तिमान तोडियो । अझ यो उपलब्धि २०२६ संस्करणमा ५९औं खेलमै सम्भव भएको हो ।
हालसम्म जारी प्रतियोगितामा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । मेसीले समूह चरणका सुरुआती दुई खेलमै पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन् ।
अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल थपेका थिए । त्यही प्रदर्शनसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।
जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमानलाई उछिन्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन् ।
त्यसैगरी, जारी विश्वकपमा ४ गोल गर्ने ४ खेलाडी रहेका छन् । फ्रान्सका उस्मान डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए ।
उनको कुल ४ गोल भएको छ । उनी फ्रान्सकै केलियन एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिएका हुन् ।
यसपटक गोलको वर्षा हुनुका पछाडि धेरै कारण देखिएका छन् । पहिलो, विश्वकपको इतिहासमै पहिलो पटक ३२ बाट ४८ टोली सहभागी भएका छन् ।
टोली संख्या बढेसँगै खेलको संख्या पनि ६४ बाट १०४ पुगेको छ । त्यसका साथै तुलनात्मक रूपमा कमजोर मानिएका केही नयाँ टोलीहरूको सहभागिताले पनि केही एकपक्षीय खेलहरू देखिएका छन्, जसले गोल संख्या बढाउन सहयोग गरेको विश्लेषण छ ।
यद्यपि गोलको संख्या बढ्नुको कारण खेल संख्यामात्र होइन भन्ने तथ्यले पनि धेरैको ध्यान खिचेको छ । कतार विश्वकपको सम्पूर्ण प्रतियोगिताभरि भएको गोल संख्या यस संस्करणले समूह चरणकै क्रममा उछिनेको छ । अर्थात् अझ धेरै खेल बाँकी रहँदा नै नयाँ कीर्तिमान बनेको हो ।
२०२६ संस्करणलाई अघिल्ला विश्वकपभन्दा पृथक बनाउने अर्को ठूलो पक्ष यसको नयाँ ढाँचा हो । पहिलो पटक तीन देश—अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन् । यसअघि कुनै पनि विश्वकपमा तीन आयोजक राष्ट्र थिएनन् ।
त्यसैगरी, सहभागी टोली संख्या ४८ पुगेपछि १२ समूह बनाइएका छन्, जहाँ प्रत्येक समूहमा चार टोली छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ । यसका कारण विश्वकपको इतिहासमै पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ ।
नयाँ ढाँचाले विश्व फुटबलमा नयाँ राष्ट्रहरूको उपस्थिति पनि बढाएको छ । धेरै टोलीले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन् भने केही साना राष्ट्रहरूले बलिया टोलीलाई चुनौती दिएर प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन् । यसले विश्वकपको प्रतिस्पर्धात्मक दायरा अझ फराकिलो भएको विश्लेषकहरु बताउँछन् ।
गोलको वर्षासँगै दर्शक उपस्थिति पनि उल्लेखनीय बनेको छ । फिफाका अनुसार यस संस्करणले दर्शक उपस्थितिको हिसाबले पनि नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । विशाल रंगशाला, तीन देशमा फैलिएको आयोजना र फुटबलप्रतिको उत्साहका कारण प्रतियोगिताले विश्वव्यापी आकर्षण अझ बढाएको हो ।
प्रतियोगिता नकआउट चरणतर्फ अघि बढ्दै जाँदा गोल संख्या अझ तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । यदि यही लय कायम रह्यो भने विश्वकप इतिहासमै पहिलो पटक २०० भन्दा धेरै गोल हुने अनुमान छ।