आइएमएस ग्राहकका लागि इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

काठमाडौं । इसेवा र आइएमएसले ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही/लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुनेछ । यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै व्यवसायीहरूलाई अझै छिटो, अझै सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ। ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले चेकमा आधारित कारोबारमाथिको निर्भरतालाई कम गर्दै र म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समयलाई बचाएर भुक्तानी प्रणालीलाई अझ सरल बनाउन मद्दत गर्दछ । ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ मार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छन् । हाल भएकै प्रणालीहरूबाटै सिधै भुक्तानी गर्न सम्भव हुने हुनाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले उल्लेखनीय समय बचत गर्न, सञ्चालन जटिलताहरू कम गर्दै आफ्नो मुख्य व्यावसायिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सक्दछन् ।  इसेवा र आइएमएसको यो सहकार्यले व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने र संस्थाहरूलाई डिजिटल रूपान्तरण अपनाउन सहयोग गर्ने दुई संस्थाहरूको साझा प्रतिबद्धतालाई झल्काउँदछ । इसेवा र आइएमएसले प्रविधिसँगै विभिन्न भुक्तानी क्षमतालाई एउटै कार्यप्रवाहमा समेट्दै, व्यवसायीहरूलाई अझ बढी सहजता, प्रभावकारी र आत्मविश्वासका साथ भुक्तानी व्यवस्थापन गर्न सहज बनाइरहेको छ । उद्यमीहरूका लागि व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल भुक्तानी अनुभव सिर्जना गर्ने इनोभेटिभ र भरपर्दो सोलुसन्स उपलब्ध गराउने लक्ष्यमा इसेवा र आइएमएस दुवै सक्रीय रहिआएका छन् ।    

सिंहको काँधमा पत्रकार महासंघ बझाङको जिम्मेवारी

काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार ललितबहादुर सिंहले सम्हालेका छन् । महासंघ बझाङ शाखाको कार्यालयमा आयोजित कार्यक्रमबीच सिंहले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।  नेपाल पत्रकार महासंघ बझाङ शाखाका निवर्तमान अध्यक्ष डिबी. बिष्टको कार्यकाल समाप्त भएपछि नेतृत्व हस्तान्तरण गरिएको हो । यसअघि सम्पन्न महासंघको निर्वाचनमा बिष्ट र सिंहले समान मत प्राप्त गरेका कारण आपसी सहमतिअनुसार कार्यकाल आधाआधा बाँड्ने निर्णय भएको थियो । सोही सहमतिअनुसार अब सिंहले बाँकी कार्यकाल नेतृत्व गर्ने भएका छन्। नवनियुक्त अध्यक्ष सिंह लामो समयदेखि पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सिंहले भने, ‘पत्रकारहरूको दुःख–सुखमा साथ दिँदै आएको छु, अब थप जिम्मेवारी पाएको छु, मेरो कार्यकालमा पत्रकारको हितमा रहेर काम गर्नेछु ।’  प्रेस स्वतन्त्रता, पत्रकार अधिकार तथा लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा सक्रिय सहभागिता जनाउँदै आएका उनले पत्रकारितामा नयाँ आयाम स्थापित गर्न निरन्तर प्रयास रहने बताएका छन् । जिल्लाका दुर्गम बस्तीमा समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनेदेखि विकास निर्माणका विषयमा राजनीतिक दल, जनप्रतिनिधि र सरकारी निकायबीच समन्वय गरी विकासको कार्यदिशा तय गर्नसमेत उनले भूमिका खेलेको स्थानीय सञ्चारकर्मीहरू बताउँछन् । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष सिंहले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले पत्रकारिता क्षेत्रको विकासका लागि केवल भाषण र प्रतिबद्धताभन्दा पनि व्यवहारिक काम आवश्यक रहेको उल्लेख गर्दै आफूले परिणाममुखी कार्यशैली अपनाउने बताए ।  ‘पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र संस्थागत सुदृढीकरणका लागि नियम र विधानभित्र रहेर काम गर्नेछु,’ सिंहले भने, ‘पत्रकारिताको विकासका लागि बोलेरभन्दा काम गरेर देखाउने मेरो प्रयास हुनेछ ।’  कार्यक्रममा सहभागी पत्रकारले सिंहको नेतृत्वमा नेपाल पत्रकार महासंघ बझाङ शाखा अझ सशक्त, सक्रिय र पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त उनीहरुको छ ।   

निर्वाचन समीक्षा र पुनर्गठनबारे एमाले नेताहरूले सुरु गरे कोशीमा सुझाव संकलन

काठमाडौं । नेकपा एमालेले पछिल्लो निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम सोमबार विराटनगरमा सुरु भएको छ । पार्टीले संगठनात्मक पुनर्संरचना, कार्यशैली सुधार तथा निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलका संयोजक थापासहित उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरू विराटनगर पुगेका छन् । कार्यक्रममा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्कीको समेत सहभागिता रहेको छ । सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिएको जानकारीअनुसार सुझाव संकलन कार्यक्रममा कोशी प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी, जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरू सहभागी भएका छन् । पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि एमालेभित्र संगठनात्मक कमजोरी, नेतृत्व शैली, कार्यकर्ता परिचालन र पार्टी संरचनामाथि व्यापक समीक्षा गर्ने माग उठ्दै आएको छ । पार्टी नेतृत्वले सुझाव संकलन अभियानलाई औपचारिकता मात्र नभई संगठन सुधारको आधार बनाउने दाबी गरेको छ। कार्यदलबाट प्राप्त सुझावका आधारमा एमालेको संगठनात्मक संरचना, कार्यपद्धति र नेतृत्व विकासका विषयमा आवश्यक सुधार तथा पुनर्गठन प्रक्रिया अघि बढाइने नेताहरूले बताएका छन् । महासचिव शंकर पोखरेललगायत नेताहरूले यसअघि पनि कार्यदलको प्रतिवेदन र तल्ला तहबाट प्राप्त सुझावकै आधारमा पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गरिने बताउँदै आएका छन् । उनीहरूका अनुसार आगामी महाधिवेशन र भावी निर्वाचनलाई लक्षित गर्दै एमालेलाई थप प्रभावकारी, गतिशील र जनमुखी बनाउने उद्देश्यका साथ सुझाव संकलन अभियान सञ्चालन गरिएको हो ।