पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।      दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो ।      नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ । यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट गर्दै पोर्चुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।  

वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण एकै पटक, समय र खर्च दुवै बचत

काठमाडौं । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।      अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा  श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्।      उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् । 'पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ', उनले भनिन्, 'कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।'      उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताइन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।       विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ ।      'सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ', उनले भनिन्, 'तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।'      उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ । रासस

नेचुङ भन्सारमा तीन अर्ब ४९ करोड राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो ।  भन्सार प्रमुख रमेश खड्काका अनुसार  उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् ।  यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् ।   नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।