भक्तपुरमा डेरा गरेर बस्ने पशुपति क्षेत्रमा आएर लुटपाट गर्ने दुई भारतीय पक्राउ
काठमाडौं । सार्वजनिक यातायात तथा पशुपति मन्दिर क्षेत्रमा लुटपाट गर्ने दुई जना भारतीय पक्राउ परेका छन् । भारत गोरखपुर घर भई हाल भक्तपुर बस्ने ३४ वर्षीय रन्जीत चौधरी र सिसवा घर भएका भक्तपुर ४५ वर्षीय शान्ति चमार रहेका छन् । उनीहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको तथा पशुपति नाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुनचाँदीका गरगहना लुट्ने गरेका थिए । दुई जना भारतीय नागरिकहरूलाई चोरी गरिएको सुनचाँदीका गरगहना, नगद र मोबाइल सहित प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सुनको सिक्री लकेट थान- १ सुनको झुम्का थान-४ सुनको मुन्द्रा थान- ६ पोते सहित सुनको मङ्गलसूत्र थान-१ चाँदीको औँठी थान- १ चाँदीको सिक्का थान- १ चाँदीको पाउजु थान-४ चाँदीको सिक्री थान-१ चाँदीको खुट्टामा लगाउने बिच्छी थान- २ चाँदीको ब्रासलेट थान १ नेपाली नगद रु १,१५,५०० भारतीय रुपैयाँ ८०,००० विभिन्न कम्पनीका मोबाइलहरू थान- ६ भारतीय प्यान कार्ड थान- २ आधार कार्ड थान- १ जैविक कृषि बिस्तार योजनाको कार्ड थान- १ १८. खोप कार्ड थान- १ चाँदीको लकेट थान - १
अमेरिकी दूतावासद्वारा प्रहरीलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू उपलब्ध गराएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमबीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको बताए। यस किसिमका सहयोगहरू दुई देश बिचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको उनको भनाइ छ । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताए । यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उनले विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा टिकटमा १० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले अब जय नेपाल सिनेमाजमा सिनेमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र जय नेपाल सिनेमाज, दरबारमार्गबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकले प्रत्यक्ष लाभ लिनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न यस्ता ग्राहकमैत्री योजना सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार डिजिटल कारोबारमा उपलब्ध छुट तथा अन्य अफरबारे विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले हालै युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस्तै, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा, साथै अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ ।