विश्वकपमा स्पेनको दबदबा, अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा
काठमाडौं । युरोपियन च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा सहज जित निकाल्दै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । स्पेनको जितमा कप्तान मिकेल ओयारजाबाल नायक बने । उनले ३६औं र ८९औं मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । अर्को गोल डिफेन्डर पेड्रो पोरोले ६६औं मिनेटमा हेडमार्फत गरेका थिए । पहिलो हाफमा खेलमाथि नियन्त्रण कायम गरेको स्पेनले दोस्रो हाफमा थप आक्रामक प्रदर्शन गर्दै अस्ट्रियालाई कुनै अवसर नै दिन सकेन । गोलरक्षक उनाई सिमोन र स्पेनको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै लगातार अर्को क्लिन सिटसमेत कायम राखे । स्पेनका लागि यो जित विशेष रह्यो, किनभने विश्वकप नकआउट चरणमा सन् २०१० मा उपाधि जितेपछि यो पहिलो जित हो । यससँगै उपाधि दाबेदारका रूपमा स्पेनले बलियो सन्देश दिएको छ । अब स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
सामाजिक सञ्जालमार्फत अश्लील भिडियो पठाएर दुःख दिने युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गर्ने आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङको खोटेहाङ गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २० वर्षीय पवन निरौलालाई पक्राउ गरेको हो । ब्युरोका अनुसार ती युवकले पीडित महिलासँगको सम्बन्धका क्रममा खिचिएका अश्लील भिडियो तथा तस्बिरको दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए । पीडितले माग पूरा नगरेपछि ती सामग्री ह्वाट्सएपमार्फत पीडितका परिवारका सदस्यलाई पठाएको उजुरी परेको थियो । उजुरीपछि गरिएको प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणका आधारमा प्रहरीले असार १७ गते काठमाडौं महानगरपालिका–७ बाट उनलाई पक्राउ गरेको जनाएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ। साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत गोपनीयतामाथिको हस्तक्षेप तथा ब्ल्याकमेलजस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन
काठमाडौं । डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले रोमाञ्चक पुनरागमन जित निकालेपछि डेक्लन राइसले ह्यारी केनबारे एउटा वाक्यमा सबै कुरा समेटे । उनले भने, ‘ह्यारी केन त अपरिहार्य छन् ।’ वास्तवमै ह्यारी केन गोल गर्ने मामिलामा लगभग सुनिश्चित खेलाडी हुन् । त्यसैले त इंग्ल्यान्डको टोली लगभग पूर्ण रूपमा कप्तान केनकै वरिपरि निर्माण गरिएको छ । ‘यो ह्यारी केनको टोली हो’ भन्ने टिप्पणी पनि अतिशयोक्ति जस्तो लाग्दैन । डीआर कङ्गोविरुद्धको खेलमै उनले आफ्नो खेलको सम्पूर्ण विविधता देखाए । सन् १९६६ यता विश्वकपको नकआउट चरणमा पछाडि परेको अवस्थामा इंग्ल्यान्डले पहिलो पटक पुनरागमन गर्दै जित निकाल्दा त्यसका मुख्य नायक केन नै बने । पहिलो गोल, अर्थात खेल बराबरीमा ल्याउने गोल, उत्कृष्ट स्ट्राइकरको व्यक्तिगत क्षमताको उत्कृष्ट उदाहरण थियो । केही क्षणका लागि खाली स्थान पाउनेबित्तिकै केनले आफ्नै सहज प्रवृत्तिका आधारमा त्यसको पूरा फाइदा उठाउँदै एन्थोनी गोर्डोनको क्रसलाई जाली चुमाए । तर दोस्रो गोल अझ विशेष थियो । त्यो आधा अवसरलाई सदुपयोग गर्ने सामान्य स्ट्राइकरको गोल थिएन, बरु खेललाई आफ्नो नियन्त्रणमा लिने विश्वस्तरीय खेलाडीको प्रदर्शन थियो । यो पनि संयोग थिएन कि निर्णायक गोल आउनुभन्दा केही सेकेन्डअघि जुड बेलिंघमले एक्लै अवसर सिर्जना गर्ने प्रयास गरेका थिए । रियल मड्रिडका स्टार बेलिंघमले यसअघि नै यस्तै दुई निर्णायक गोल गरिसकेका थिए र भविष्यमा यो टोली उनको वरिपरि घुम्ने संकेत पनि दिएका छन् । तर डीआर कङ्गोविरुद्ध उनको प्रदर्शन उत्कृष्ट रहेन । कतिपय अवस्थामा उनले बुकायो साकालाई पास दिनुपर्ने ठाउँमा आफै प्रहार गर्ने निर्णय गरे । त्यस बेला इंग्ल्यान्डलाई अर्को नायकको आवश्यकता थियो । र अगाडि आए केन । बल उनको खुट्टामा पुग्यो र उनले कुनै गल्ती गरेनन् । यसअघि यस्तै अवस्थाहरूमा उनले बल पास गर्ने वा तुरुन्तै प्रहार गर्ने गरेका थिए । तर यसपटक उनले बल नियन्त्रणमा राखे, कङ्गोका रक्षकहरूलाई छल्दै आफूलाई आवश्यक खाली स्थान बनाए र शक्तिशाली प्रहार गर्दै बललाई पोस्टको माथिल्लो भागमा जाली चुमाए । यो गोल सुन्दर फिनिस मात्र नभई केनको दृढ इच्छाशक्ति र आत्मविश्वासको प्रतिविम्ब पनि थियो । खेलपछि प्रशिक्षक थोमस टुचेलले भने झैं, ‘केनले खेललाई आफूमाथि हावी हुन दिएनन् ।’ केनको फिनिसिङ केही हदसम्म एलन सियररको झल्को दिलाउने खालको थियो, तर केन आफ्नै शैलीका फरवार्ड हुन् । बार्यन म्युनिखका स्ट्राइकर केनले लगातार नयाँ कीर्तिमान बनाइरहेका छन् । यस विश्वकपमा उनका पाँच गोल भइसकेका छन् । समग्र विश्वकप करिअरमा उनले १३ गोल गरेका छन् । यस सिजन मात्र उनको गोल संख्या ७२ पुगेको छ भने इंग्ल्यान्डका लागि उनले ८४ गोल गरिसकेका छन् । लामो समयसम्म यस्तो निरन्तर गोल गर्ने क्षमता असाधारण मानिन्छ । यही कारणले उनीमाथि सबैले भरोसा गर्छन् । तर केनको महानता केवल शारीरिक क्षमतामा सीमित छैन । यसको मनोवैज्ञानिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। बायर्न म्युनिखबाट अन्ततः उपाधि जितेपछि उनको आत्मविश्वास अझ बलियो बनेको छ । उपाधि जित्नुले खेलाडीलाई बदलिदिन्छ र त्यसले केनलाई आफूलाई अझ पूर्ण रूपमा बुझ्ने अवसर दिएको छ । अब उनीभित्रको शंका लगभग समाप्त भइसकेको छ । यसको प्रभाव खेलमा पनि स्पष्ट देखिन्छ । इंग्ल्यान्ड एक घण्टाभन्दा बढी समयसम्म १–० ले पछाडि पर्दा टोलीका खेलाडीहरू दबाबमा थिए । खेलभरि चर्चा भइरहेको थियो कि यो पराजय १० वर्षअघिको आइसल्यान्डविरुद्धको निराशाजनक हारभन्दा पनि खराब बन्न सक्थ्यो । संयोगले यस टोलीमा रहेका चार खेलाडीमध्ये केन पनि त्यही हार भोगेका खेलाडी हुन् । त्यतिबेला उनी उत्कृष्ट गोलकर्ता बन्ने क्रममा थिए, तर अहिले उनी पूर्ण खेलाडीमा रूपान्तरित भइसकेका छन् । उनको फुटबल बौद्धिकताले पनि त्यो अनुभवलाई टोलीको हितमा प्रयोग गर्न सिकाएको छ । केनलाई थाहा थियो—आत्तिनु हुँदैन । उनी यस्ता क्षणहरूबाट पहिले नै गुज्रिसकेका थिए, जबकि धेरै युवा खेलाडीका लागि यो नयाँ अनुभव थियो । यूरो २०२४ मा स्लोभाकियाविरुद्धको २–१ को जितबाहेक इंग्ल्यान्डले विगत १० वर्षमा यस्तो दबाबपूर्ण अवस्था खासै भोगेको थिएन । सुरुआती २२ मिनेटमा खेलाडीहरूले बल नियन्त्रण गर्न नसक्ने, गलत पास दिने र सामान्य गल्ती गर्ने दृश्य देखिएको थियो । तर कप्तान केन भने शान्त रहे। उनले आफ्ना सहकर्मीलाई संयमित रहन र खेलमा केन्द्रित हुन निरन्तर प्रेरित गरिरहे । खेलपछि उनले टोलीलाई अर्को सन्देश पनि दिए— ‘अब यो क्षणको आनन्द लिनुपर्छ ।’ हो, टोली हारको निकै नजिक पुगेको थियो । तर त्यसैमा अल्झिरहनुको अर्थ छैन । कठिन परिस्थितिमै टोलीको भावना बलियो बन्छ र लक्ष्यप्रतिको एकाग्रता अझ तीक्ष्ण हुन्छ । केनको आफ्नै एउटा विशेष लक्ष्य पनि छ । यदि उनी स्वाभाविक रूपमा इंग्ल्यान्डलाई विश्वकप जिताउने एकमात्र लक्ष्यमा केन्द्रित छन् भने उनी विश्व फुटबलको ठूलो तस्वीरप्रति पनि उत्तिकै सचेत छन् । खेलपछि प्रशिक्षक टुहेलले भने, ‘केनजस्ता खेलाडीले आफ्ना प्रतिस्पर्धीहरूले के गरिरहेका छन् भन्ने सधैं नियालिरहेका हुन्छन् । केलिएन एम्बाप्पेले कति गोल गरिरहेका छन्, अर्लिङ हालान्डले कस्तो प्रदर्शन गरिरहेका छन्, यी सबै कुराले उनीहरूलाई थप प्रेरित गर्छ । प्रतिस्पर्धी भावना उनीहरूको प्रेरणाको एउटा हिस्सा हो, तर त्यो मात्र होइन । टुहेलले भने, ‘उनीहरू सबै शार्कजस्ता हुन् । रगतको गन्ध पाउनासाथ गोल गर्छन् । उनीहरू शार्क हुन् ।’ ह्यारी केनले यही मानसिकता इंग्ल्यान्डको टोलीमा पनि ल्याएका छन् । उनी केवल गोल गर्दै खेल जिताइरहेका छैनन्, बरु आफ्नै नेतृत्व र विजयी मानसिकतामार्फत इंग्ल्यान्डको विश्वकप यात्रालाई अगाडि बढाइरहेका छन् ।