एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक
काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ । फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ । एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज, २८ प्रक्रियामै
काठमाडौं । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार, यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको उनको भनाइ छ । उनले हाल २८ दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागस् हुन पाउने जानकारी दिए । उनले भने, 'आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र, खारेज हुने क्रम पनि बढिरहेको छ ।' उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको उल्लेख गरे । उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी मंसिर ५ गतेसम्म जारी रहने छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।
मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् । कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ । ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा रु ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।